Logo

स्वास्थ्यमन्त्री त्रिपाठीले गरे भारतबाट कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने संकेत



काठमाडौं, २७ पौष । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले भारतबाट कोरोना भाइरसविरुद्धको खोप ल्याउने संकेत गरेका छन् । उनले चाँडै नै खोप नेपाल आइपुग्ने र त्यसका लागि पहल गरिसकिएको बताए ।

‘खोल ल्याउन सरकारले तयारी गरिसकेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले भने,‘खोप राजनीतिक सामाग्री हुन पुगेको छ, त्यसका लागि त्यही अनुसार पहल गरेका छौं ।’ उनले सम्बन्धित देशको सरकारसँग समन्वय गरेर खोप ल्याउन पहल भइरहेको जानकारी दिए । तर, उनले कुन देशबाट ल्याउनेबारे खुलाएनन् । यद्यपि, उनको संकेत भारततर्फ थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १ माघमा भारत पुग्ने निश्चित भएसँगै स्वास्थ्यमन्त्रीको पछिल्लो भनाई आएको हो । भारत भ्रमणमा ज्ञवालीले कोरोनाविरुद्धको खोप ल्याउनेबारे कुराकानी गर्ने बुझिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोनाविरुद्धको खोप चाँडै ल्याइने बताइसकेका छन् । हिजो राष्ट्रियसभा बैठकमा उनले यस्तो खुलासा गरेका हुन् ।

भारतले कोरोना भाइरसविरुद्धको दुईवटा भ्याक्सिनलाई आकस्मिक प्रयोगको अनुमति दिइसकेको छ । खोप यसै हप्ता प्रयोग शुरु हुनेछ । पुनेस्थित सेरम कम्पनिले उत्पादन गरिरहेको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन केही दिनभित्र प्रयोगमा ल्याउने भएको छ । भारतमा प्रयोगमा ल्याइएको दुई हप्ताभित्र दक्षिण एशियाका छिमेकी देशहरुमा निर्यात गर्ने तयारी समेत भारतले गरेको छ । त्यसमा नेपाल प्राथमिकतामा परेको छ । नेपालले पनि अक्सफोर्ड भ्याक्सिन भित्राउने पहल गरेको छ ।

सेरमले उत्पादन गरेको कोभिसिल्डको निर्यातको तयारी भइरहेको छ । बँगलादेशले भयाक्सिन अर्डर गरिसकेको छ । निर्यातको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

पहल र प्रक्रिया सफल भएमा माघभित्र भ्याक्सिनको निश्चित डज नेपाल भित्रनेछ । भारतले अनुदान र सुपथ मूल्य दुवैमा सुमधुर सम्बन्ध भएका छिमेकीलाई भ्याक्सिन उपलब्ध गराउने जनाएको छ । त्यसमा नेपाल पनि प्राथमिकतामा परेको हो । खुल्ला सीमा भएकाले पनि भारतले नेपालमा पनि जतिसक्दो छिटो भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेको बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot