Logo

राजनीतिक लेनदेनसहित मिलेर संसद पुनःस्थापनामा केन्द्रित हुन देउवालाई प्रचण्डको प्रस्ताव



काठमाडौं, १ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भेटेका छन् । हिजो साँझ दुई घन्टाको भेटमा दुई नेताबीच समिकरण बनाएर जानेबारे छलफल भएको थियो ।

६ बजे देखि ८ बजेसम्म भएको भेटमा प्रचण्ड र नेपालले देउवालाई संसद पुनःस्थापनामा एकजुट भएर अघि बढ्न प्रस्ताव गरेका थिए । अदालतको फैसला जेसुकै भएपनि संसद पुनःस्थापनाको पक्षमा मिलेर जान प्रचण्ड र नेपालले प्रस्ताव गरेका थिए । विश्वस्त स्रोतका अनुसार भविष्यसँग मिलेर जाने गरी देउवालाई प्रचण्ड र नेपालले प्रस्ताव गरेका थिए ।

देउवाले चुनावमा बढी जोड दिइरहेकोमा प्रचण्ड र नेपालले चासो देखाएका थिए । ओलीले चुनाव नगर्ने र भ्रममा नपर्न समेत भनेको बुझिएको छ । देउवाले भने लोकतन्त्रमा चुनाव अनिवार्य भएको जवाफ दिएका थिए । उनले अदालतको आदेशलाई पर्खेर अघि बढ्ने जवाफ दिएका थिए ।

प्रचण्ड र नेपालले भने संयुक्त आन्दोलनको प्रस्ताव गरेका थिए । संसद पुनःस्थापनाको पक्षमा संयुक्त रुपमा अघि बढ्ने उनीहरुको प्रस्ताव थियो । बरु त्यसपछि सत्ता मिलेर सञ्चालन गर्नेबारे राजनीतिक लेनदेनको कुरा हुनसक्ने बताएका थिए ।

देउवासँग प्रचण्ड र नेपालले भेटेर भविष्यसँग मिलेर जाने कुराकानी गरेपछि बालुवाटार सतर्क भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे निकै चासो राखेको बुझिएको छ । ओली र देउवाबीच भित्री रुपमा सम्झौता भएको चर्चा चल्दै आएको छ । प्रतिनिधिसभा बिघटनमा देउवाले ओलीलाई साथ दिइरहेको चर्चा चलिरहेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot