Logo

‘नेपाल भारत बैठकमा सीमा, पञ्चेश्वर, इपिजी, भ्याक्सिनलगायत विषयमा कुराकानी’



नयाँ दिल्ली, २ माघ । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सीमा समस्या समाधान, पञ्चेश्वर परियोजना, इपिजीको प्रतिवेदन, भ्याक्सिनलगायतका विषयमा कुराकानी भएको छ । नेपालले सीमाका बाँकी समस्याको समाधान गर्नुपर्ने विषय उठाएकोमा भारतले राजनीतिक तहबाट गर्नुपर्ने जवाफ दिएको छ ।

भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले सीमालगायत विषयमा कुराकानी भएको बताए । ऋषि धमलासँग कुराकानी गर्दै आचार्यले दुई देशबीचको परराष्ट्रमन्त्रीस्तरीय भेटवार्ता र संयुक्त आयोगको बैठक निकै उपलब्धिमूलक भएको बताउँदै सीमा, ऊर्जा, भ्याक्सिनलगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।

र ‘नेपाल भारतबीचको बैठक निकै उपलब्धिमूलक भयो,’ राजदूत आचार्यले भने,‘सीमा, पञ्चेश्वर परियोजना, इपिजी, भ्याक्सिनलगायतका विषयमा महत्वपूर्ण कुराकानी भयो ।’

सीमा समस्या समाधानबारे नेपालले कुरा उठाएको आचार्यले स्पष्ट पारे । समस्या समाधान हुनुपर्छ भन्ने नेपालको प्रस्तावमा भारतले बाँकी समस्याको समाधान प्राविधिक तहबाट नभई राजनीतिक तहमा छलफल गरेर जानुपर्ने जवाफ दिएको बताए । ‘भारतले सीमाका बाँकी समस्या राजनीतिक तहबाट समाधान गर्ने कुरा गरेको छ ,’ आचार्यले भने ।

भारत कोरोना भाइरसको भ्याक्सिन नेपाललाई प्रदान गर्न सकारात्मक भएको उनको भनाई थियो । भ्याक्सिन अनुदान र सुपथ मूल्य दुवैमा दिन भारत सकारात्मक भएको आचार्यले बताए ।

आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस. जयशंकरबीच वन टु वन वार्ता भएको र डेलिगेशन तहमा पनि कुराकानी भएको जानकारी दिए । ‘दुई देशबीच यति गम्भीर संवाद हुनु आफैमा उपलब्धि हो ,’ राजदूत आचार्यले भने ।



प्रतिक्रिया दिनुहोस्