Logo

कोभिड खोप लगाउन १ करोड ३० लाख ‘सिरिन्ज’ किनिँदै



काठमाडौं, माघ ६ । कोरोना खोप सबै जनतासम्म पुर्‍याउने उद्देश्यले सरकारले ग्लोबल टेन्डरमार्फत ‘सिरिन्ज’ किन्ने प्रक्रिया थालेको छ ।कोभिड खोपका लागि १ करोड ३० लाख थान सिरिन्ज किन्न स्वास्थ्य सेवा विभागले प्रक्रिया अघि बढाएको हो ।

स्वास्थ्य सेवा विभागका खरीद विभाग प्रमुख उपेन्द्र ढुंगानाले कुल जनसंख्याको २० प्रतिशतलाई खोप पुर्‍याउने गरी सिरिन्ज किन्ने प्रक्रिया थालिएको बताए । उनका अनुसार प्रतिस्पर्धाका माध्यमबाट सिरिन्ज किन्ने ठेक्का स्वदेशी तथा विदेशी कम्पनीलाई दिइनेछ ।

कोभिड–१९ आपत्कालीन राहत कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक तथा विकास साझेदारहरूले सहायता दिने बताएका थिए । सोहीअनुसार विभागले सिरिन्ज किन्न लागेको ढुंगाना बताउँछन् ।

आगामी अप्रिलभित्रै सिरिन्ज ल्याइसक्ने गरी टेन्डर प्रक्रिया अघि बढेको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम धेरै मात्रामा सिरिन्ज किन्नुपर्ने भए पनि एकैपटक नकिनिने तर चरणबद्ध रूपमा किनिने बताउँछन् ।

उनका अनुसार पहिलो चरणको सिरिन्ज चाँडोमा अप्रिलभित्रै ल्याइनेछ । स्वास्थ्य सेवा विभागका अनुसार अहिले ६० लाख थान सिरिन्ज नियमित खोप कार्यक्रमका लागि छ । यद्यपि स्टकमा भएको सिरिन्ज अरू खोपमा समेत प्रयोग गर्नुपर्ने भएकाले अहिलेको स्टक पर्याप्त नरहेको विभागका अधिकारीहरू बताउँछन् ।

कोरोना खोपका लागि अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई स्रोतको सुनिश्चिता गरिदिने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले शुरूमा ३ प्रतिशत जनसंख्यालाई तत्काल खोप लगाउनेछ ।

पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, अस्पतालमा काम गर्ने सबै तहका व्यक्ति, महिला स्वयंसेविकालगायतलाई खोप लगाउने तयारी रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्