Logo

डलर कमाउँदै खेर जाने वस्तु



काठमाडौं, माघ ११ । गाईबस्तुको आहारा खोस्टा आकर्षक झोला बनाउन प्रयोग हुन थालेको छ । झोला बनेको मात्र होइन विदेशमा निकासी भएर विदेशी मुद्रा आर्जनको स्रोत पनि बन्न थालेको छ ।

विदेशमा निर्यात गर्दाको अनुभव पनि रोचक छ । रिजनल ह्यान्डिक्राफ्टका संस्थापक तथा महिला उद्यमी महासङ्घका अध्यक्ष देविका बुढाथोकी तीन वर्षअघि मकैको खोस्टाले बुनेको ब्याग बोकेर चीन गईन् । उक्त झोला आकर्षक लागेर उनले त्यहीँबाट निर्यातको अर्डर लिएर फर्किन् ।

सानैदेखि सीपका काम गर्न रुचाउने अध्यक्ष बुढाथोकीले मकैको खोस्टाको उपयोग गरी हातैले कलात्मक ढङ्गले बुनेका नौलो सामग्री देखेर विदेशीसमेत आकर्षित भएका थिए । त्यसैअनुसार माग हुँदै गयो ।

स्थानीय कच्चा पदार्थबाट बनेका झोलाको हालको वार्षिक माग १० लाख रहेको उनको भनाई छ । तर करिब एक लाख मात्र निर्यात गर्न सकेको उनले बताईन् । गत वर्ष रिजनल ह्यान्डिक्राफ्टले एक करोड ४६ लाख रुपियाँको निर्यात गरेको थियो ।

झोला बन्न थालेको तीन वर्षमै चीन र अस्ट्रेलियालगायतका देशबाट ठूलो परिमाणमा माग भइरहेको तर मागेजति दिन नसकेको संस्थापक बुढाथोकीले बताएकी छन् । माग पूरा गर्न नसक्नुको प्रमुख कारण भने झोला बनाउने जनशक्तिकै अभाव रहेको उनको भनाई छ।

हातैले बनाउनुपर्ने भएकाले उत्पादनका लागि समय पनि लाग्ने गरेको छ । त्यस्तै विदेश निर्यात गर्नुपर्ने सामानको गुणस्तर कायम गर्नुपर्दा पनि मागेजति दिन नसकिएको उनले बताईन् ।

खोस्टाको झोला बनाउन खासै दक्ष जनशक्ति नचाहिने भए पनि काममा लाग्ने कमै रहेको बताइएको छ । रोजगारीका लागि धेरै नेपाली महिला विदेशमा पुगेर सङ्घर्ष गरिरहेको तर घरमै बसेर दैनिक १८ सयसम्म कमाउन सकिने सीपको काममा ध्यान नपुगेको उनको विचार छ ।

अध्यक्ष बुढाथोकीका अनुसार ब्याग बनाउनेले प्रतिब्याग छ सय रुपियाँ पाउँछन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot