Logo

अनौठा नेपाली लोक विश्वास : प्रा.डा. पोखरेल



प्रा.डा. माधवप्रसाद पोखरेल : नेपाली समाज धेरै लोक विश्वासका आडमा चलेको छ । त्यस्ता लोक विश्वासहरू लामो परम्परादेखि नेपाली समाजमा चलिरहेका छन् । धेरैजसो त्यस्ता लोक विश्वास वैज्ञानिक दृष्टिले निम्सरा हुन्छन्, तर नेपाली संस्कृतिमा त्यस्ता विश्वासहरूको ठूलो र बलियो भूमिका हुन्छ । यस लेखमा नेपाली समाज र संस्कृतिमा गाडिएर बसेका त्यस्तै लोक विश्वासहरूको मीमांसा छ ।

आइमाई

नेपाली लोक विश्वास आइमाईहरू प्रति सकारात्मक देखिँदैनस अर्थात् महिलावादीहरूले नेपाली लोक विश्वास भित्र लैङ्गिक असमानताका सामलहरू प्रशस्त पाउँछन् । नेपाली लोक विश्वासमा पुरुष सत्ता अर्थात् पितृसत्ता प्रखर रूपमा देखिन्छ ।

– आइमाईले श्रीमानको नाम लिनु हुँदैन ।
– लोग्ने मान्छेको भन्दा आइमाईको बुद्धि कम हुन्छ ।
– शुभ कार्यमा विधवा देख्ता, अपशकुन हुन्छ ।
– विधवाले शृङ्गार गर्नु हुँदैनस साइतका वेलामा सामु पर्नु हुँदैनस पुनर्विवाह गर्नु हुँदैन ।
– लोग्ने परदेश हिँडेको दिन आइमाईले कपाल ननुहाउनू ।
– आइमाईले बिही वार, औँसी र औँसीको चतुर्दशीको दिन ननुहाउनू ।
– नछुने आइमाई अगाडि देख्ता साइत पर्दैन ।
– रजस्वलाले छुनु हुँदैनस पूजा गर्नु हुँदैनस पकाउनु हुँदैन र अलग्ग बस्नु पर्छ ।
– सुत्केरी छोएर नुहाउनु पर्छ ।
– आइमाईले ठाडो उभिँदा पृथ्वीलाई भार हुन्छ ।
– छोरीलाई सिँदुर हालेको हेर्नु हुँदैन ।
– कैलो कपाल र कुइरा आँखा भएका आइमाई भाग्यमानी हुँदैनन् ।
– आइमाईले वेद पढ्नु हुँदैनस पुरेत्याइँ गर्नु हुँदैन ।

कतै कतै श्रीमतीको नाम पनि श्रीमानले लिनु हुँदैन भन्ने चलन पनि पाइन्छ, तर श्रीमतीले श्रीमानको नाम लिने कुरामा बढ्ता निषेध छ । बुद्धि र शारीरिक लिङ्गको कुनै साइनो हुँदैन भन्ने कुरो विज्ञानले प्रमाणित गरिसकेको छ, तर नेपाली लोक विश्वासले चाहिँ आइमाईको बुद्धि लोग्ने मान्छेको भन्दा कम हुन्छ भन्ने मान्दछ । आइमाईले ठिङ्ङ उभिनु हुँदैन भन्ने लोक विश्वासमा पनि पुरुष सत्ताले काम गरेको देखिन्छ । पुरुष सत्ताको पक्षपाती दृष्टिले शुभ कार्यमा राँडो देख्ता अशुभ हुन्छ भन्ने चाहिँ मान्दैन, तर विधवा देख्ता अशुभ हुन्छ भन्ने चाहिँ मान्दछ । पुरुष सत्ताको त्यही पक्षपाती भेद भावले गर्दा विधवाले शृङ्गार गर्नु हुँदैन, साइतका वेलामा सामु पर्नु हुँदैन र पुनर्विवाह गर्नु हुँदैन भन्ने लोक विश्वास चाहिँ बनाएको छ, तर आफ्नी श्रीमती मरे पछि राँडाले पनि सिँगारिनु हुँदैन, साइतका वेला सामु पर्नु हुँदैन र कहिल्यै पुनर्विवाह गर्नु हुँदैन भन्ने धारणा चाहिँ बनाएको पाइँदैन, त्यसैले कहिले काहीँ त श्रीमती मरेको सुद्धाइँ पनि नसिद्धिँदै श्रीमानले बिहे गरेको सुनिन्छ भने आफ्नी श्रीमती सर्साउँदी हुँदै पुनर्विवाह गर्ने लोग्ने मान्छेहरू प्रशस्त पाइन्छन् । नेपाली संस्कृति अनुसार आइमाईले लामा कपाल पाल्ने र लोग्ने मान्छेको कपाल छोटो पार्ने भएकाले श्रीमान परदेश गएको दिन अथवा बिही वार, औँसी र औँसीको चतुर्दशीको दिन श्रीमतीले कपाल नुहाउनु नहुने लोक विश्वास भएको तर श्रीमती परदेश गएको दिन श्रीमानले कपाल नुहाउनु नहुने लोक विश्वास नभएको हो कि अथवा पुरुष सत्ताकै पक्षपाती दृष्टि कोणले गर्दा यस्तो लोक विश्वास बनेको हो, त्यो चाल पाइँदैन १

हिन्दुहरूका समाजमा रजस्वला एउटा निषेधका रूपमा लिइन्छ । चालीस पैँतालीस वर्ष नपुगेका सबै महिलाहरूको महिनै पिच्छे परिपक्व भएका तर निषेचन नभएका दुइटा डिम्ब फुट्छन् र गर्भाशयबाट त्यही फुटेको डिम्व रक्तस्रावको रूपमा शरीर बाहिर तीन दिन निस्कन्छ । तिनै तीन दिन महिलालाई रजस्वला भन्छन् र नेपालीहरू महिनाबारी वा नछुने भन्दछन् । महिनाबारी सुरु हुने झन्डै दुई हप्ता अघि डिम्बाशयबाट पाकेको डिम्ब गर्भाशयमा आइपुग्छ । डिम्बले डिम्बाशय छोडे पछि गर्भ रहँदैन । परिवार नियोजन गर्ने प्राकृतिक विधि अथवा क्यालेन्डर विधि अपनाउने ब्रह्मचारीहरूले यी दुई हप्ताको हिसाब राख्छन् । रजस्वला भएको तीन दिन पनि गर्भ रहँदैन, तर चौथो दिनदेखि झन्डै दुई हप्ता सम्म नयाँ डिम्ब निषेचनका लागि तयार हुने हुनाले गर्भ रहन्छ । सबै धर्महरू आधारभूत रूपमा सामाजिक न्याय वा अनुशासनका रूप हुन् । हिन्दु धर्म शास्त्रमा रजस्वला भएका तीन दिन सहवास निषेध गरिएको छ । रजस्वलालाई निषेध गरिएको मुख्य कुरो सहवास मात्र हो, तर लोकमा रजस्वला बारे भ्रम, लोकाचार र निषेधको संस्कृति जटिल बनेको छ । रजस्वला सम्बन्धी सुदूर पश्चिमाञ्चलको ‘छाउपडी’ को निषेध संस्कृति र अन्यत्रको नेपाली समाजमा व्याप्त लोक विश्वासको जटिलता यसै आधारभूत रूपको जीव वैज्ञानिक र गौण रूपमा सामाजिक समस्याको प्रतिफल हो । रजस्वला नभई आइमाईले सृष्टि नै गर्न सक्तैनन्, त्यसैले रजस्वला, गर्भिणी र सुत्केरी भएको अवस्था नै हरेक आइमाईको सबभन्दा पवित्र अवस्था हो, तर खालि सहवास मात्र वर्जित गर्नु पर्ने अरू कुनै उपाय नलगाएर रजस्वलालाई नै सामाजिक बहिष्कार गर्नु रूढीबुढीको कडा धार्मिक अन्याय हो ।

सुत्केरी छुँदा नुहाउनु पर्ने जस्तो निषेध पनि आधारभूत रूपमा सहवासको निषेध नै रूपान्तरित भए जस्तो लाग्छ ।
छोरीलाई सिँदुर हालेको हेर्नु हुँदैन भन्ने लोक विश्वासको साइनो अश्लीलतासित भए जस्तो लाग्छ । मानव समाजमा यौन सम्बन्धको दृश्य वा चर्चा कुन कुन साइनामा निषिद्ध राख्‍ने भन्ने सहमति पाइन्छ ।

‘आइमाईलाई राम्री केले बनाउँछरु’ भन्ने एउटा वैज्ञानिक लेखमा के लेखिएको छ भने, हरेक जातिका तन्देरी र तरुनीलाई आफ्नै जातिको चिटिक्क सिँगारिएका जस्तो अनुहार र बान्कीका तन्देरी र तरुनी सबभन्दा मन पर्छन्, सबभन्दा राम्रो अनुहार भनेको त्यही हो । यस कुराबाट के निष्कर्ष आउँछ भने, ‘राम्रो’ र ‘राम्री’ भन्ने परिभाषा संसारभरमा समान अभिलक्षणहरूले बन्दैनन् । यसै आधारमा कैलो कपाल र कुइरा आँखा भएका आइमाई लोक विश्वासका आधारमा युरोपमा सबभन्दा राम्रा र नेपालमा सबभन्दा नराम्रा र अलच्छिनी लाग्न सक्छन् ।

ऋग्वेदका अनेक ऋचाहरू आइमाईले लेखेका छन्, त्यसैले आइमाईले वेदका ऋचा लेख्‍न चाहिँ हुने, वेद पढ्न चाहिँ नहुने लोक विश्वास मध्य कालमा विकसित भएको कट्टरताले बन्यो होला ।

बलियो, कमजोर लोग्ने मान्छे

नेपाली लोक विश्वास सामन्तवादी संस्कारमा गाडिएको छ भन्ने कुरो सपना र साइतका शकुन र अपशकुन केलाउँदा थाह हुन्छ जस अनुसार सपना र साइतमा राजा, रानी र धनी देखेको राम्रो र गरिब दुस्खी देखेको नराम्रो हुन्छ, जस्तै स्

– सपनामा राजा, रानी, बाहुन, गाई, धनी देखेको राम्रोस गरिब देखेको नराम्रो ।
– सपना र साइतमा गरिब दुस्खी देख्ता अपशकुन हुन्छ ।
– बौलाहा देखेर हिँड्दा साइत पर्दैन ।

जात

परम्परागत नेपाली समाज मध्ययुगीन जातीय भेद भावले ग्रस्त भएको कुरो हाम्रा निम्न लिखित लोक विश्वास हेर्दा पनि थाह हुन्छ । नेपाली समाज पूर्ण रूपले शिक्षित नभए सम्म यो जातीय भेद भाव कुनै न कुनै रूपमा रहिरहन्छ अनि नेपाल सरकारको शिक्षाको प्राथमिकता र चाँजो हेर्दा निकट भविष्यमा सबै नेपाली शिक्षाको उज्यालाले प्रभावित होलान् जस्तो देखिँदैन । सबै नेपाली शिक्षित नभए सम्म मार्क्सवादीहरूले धेरै गाउँमा चुनाउ जिते पनि जातीय संस्कार जाइजाला जस्तो छैन । परम्परागत रूपमा नेपालीहरूको कुन जात ठूलो कुन जात सानो भनेर छुट्याउन भातलाई कसी बनाइन्थ्यो । मैले छोएको भात जजसले खान्छन्, तिनीहरू कि म भन्दा सानो जातका कि मेरै समान जातका मानिन्छन्, तर मैले छोएको भात जजसले खाँदैनन्, तिनीहरू आफूलाई म भन्दा ठूलो जातका मान्दछन् । परम्परागत रूपमा मानिसले आफ्नी छोरी भरसक आफ्नै जातमा, नभए आफू समानका जातमा अथवा आफू भन्दा ठूला जातमा दिन खोज्छ । मान्छे धेरै प्रगतिशील भए पनि, नेपाली बिहेको लगत हेर्नु हो भने, तिनीहरू मध्ये धेरैजसो भरसक जात मिलाएर भात खान्छन् । आफूलाई प्रगतिशील ठान्नेहरू सहरी क्षेत्रमा कहिले कहिले आफू भन्दा तल्लो जातका भनिने मान्छेले छोएको चाहिँ खान्छन्, तर बिहे गर्ने कुरामा आफ्नो भन्दा तल्लो जातका श्रीमान् वा श्रीमती रोज्नेहरू अत्यन्त कम छन् । आफ्नो भन्दा तल्लो जातकालाई छोरी दिन प्राय नेपालीहरू रोज्दैनन् । तलका लोक विश्वासले त्यही प्रवृत्ति देखाउँछन् ।

– साना जातका केटालाई छोरी दिनु हुँदैन ।
– साना जातले छोएको भात खानु हुँदैन ।
– दमाईँलाई अघि लगायो भने, साइत पर्छ ।
– कामी, दमाईँ, सार्की, पोडे, सतार, झाँगडले छोएको पानी खानु हुँदैनस तिनीहरूले घर भित्र पस्नु हुँदैनस साइतमा तिनीहरूले देखा पर्नु हुँदैन ।

ऋग्वेद काल र महाभारत कालमा पनि जात पेसामा मात्र आधारित थियो भन्ने कुरो पराशर ऋषिले निषाद कन्या सत्यवतीबाट व्यास ऋषि जन्माएको, जरत्कारु ऋषिले नाग कन्या जरत्कारुबाट आस्तिक मुनि जन्माएको, विश्वामित्र छेत्रीबाट बाहुन भएकोबाटै बुझिन्छ । मध्य कालमा आएर छुत अछुत र जात भातको प्रथा सुरु भयो । नेपाली समाजमा प्रचलित लोक विश्वासमा त्यसै मध्ययुगीन संस्कारको प्रभाव छ ।

स्वचलित शारीरिक क्रिया, आँखा फुर्फुराउनु

विश्वभरका मानव समाजका परम्परामा सामाजिक सङ्केत शास्त्र ९क्यअष्ब िकझष्यतष्अक० अन्तर्गत पर्ने तल लेखिए अनुसारका लोक विश्वासहरू पाइन्छन् । यस्ता कतिपय कुराहरू हिन्दु ग्रन्थहरूमा पनि पाइन्छन् । मसित सपनाको शब्द कोश पनि छ र मैले ‘शकुनौति’ र ‘सामुद्रिक शास्त्र’ पनि पढेको छु । तर नेपाली समाजमा प्रचलित सबै लोक विश्वासहरू त कतै पनि पढेको छैन, त्यसैले त ती लोक विश्वासहरू लोक साहित्य, लोक संस्कृति, लोक वाङ्‍मय वा लोक वार्ता अन्तर्गत पर्दछन् ।

– हिँड्ने वेलामा छिउँ गर्‍यो भने, साइत पर्दैन ।
– लोग्ने मान्छेको दाहिने आङ फुरेको राम्रोस आइमाईको देब्रे आङ फुरेको राम्रो ।
– निधार र तालु फुरेको राम्रो ।
– हत्केलो चिलाउँदा पैसा आउँछ वा जान्छ ।
– छाती चर्कियो भने सन्तानलाई पिराउ हुन्छ ।
– सपनामा सुत्यो भने, बिरामी होइन्छ ।
– सुपाडी सर्क्यो भने, मरिन्छ ।
– पैतालो चिलाउँदा ९क० पाहुना आउँछन्स ९ख० ढोग्‍नु पर्छ ।

लोक विश्वासहरूका यस सूचीमा पनि नेपाली बोल्नेहरूका संस्कृतिमा लोग्‍ने मान्छे र आइमाईको भेद देखिन्छ र यो धारणात्मक भेद आधारभूत रूपमा हिन्दु लोक आख्यानबाट विकसित भएको हो ।

साङ्कल्पिक शारीरिक क्रिया

नेपाली लोक परम्पराले दाहिनालाई पवित्र, पूर्ण र श्रेष्ठ ठान्छ, तर देब्रेलाई अपवित्र, अपूर्ण र दोस्रो दर्जाको ठान्छ, त्यसै कारणले हिन्दु विवाह परम्पराले पत्‍नीलाई उचालेर पतिको देब्रे तिर सार्छ र जीवनभर देब्रे तिर बस्‍ने शिक्षा दिन्छ । देब्रे हात शौचका लागि प्रयोग गरिन्छस आमाहरू छोरा छोरीलाई देब्रे हातले नखान र पूजा नगर्न तालिम दिन्छन्, तर आफू चाहिँ सांस्कृतिक समारोहहरूमा पतिको देब्रे तिर बस्छन् । त्यसैबाट तलको पहिलो लोक विश्वास जन्मेको होला ।

– दाहिने पाइलो पहिले सारेर हिँड्यो भने काम फत्ते हुन्छ ।
– घर भित्र सुसेल्दा घरको सातो जान्छ ।
– खुट्टाले खुट्टा माड्नु हुँदैन ।
– लोप्र्याउनु, बुढी औँलो देखाउनु र लात्ती लाग्‍नु हुँदैन ।

महाराष्ट्रका हिन्दुहरू मुख लोप्र्याइदिँदा र बुढी औँलो देखाउँदा केही पनि नबुझ्नाले रिसाउँदैनथे अर्थात् महाराष्ट्रमा लोप्र्याउने संस्कृति नै रहेनछ । चिनियाँ विद्यार्थीहरू सहपाठी केटीहरूलाई लात्ती हानेर जिस्किँदा धक मान्दैनथे, तर नेपाली विद्यार्थी केटाहरू सहपाठी केटीहरूलाई लात्ती लगाएर जिस्किँदैछन् । त्यसो नगर्न नेपाली केटाहरूलाई सांस्कृतिक निषेध छ ।

वार, तिथि

नेपाली संस्कृतिमा वार र तिथि बारे पनि निषेधको लोक विश्वास पाइन्छ, जस्तै स्

– शनि वार, आइत वार, र मङ्गल वार कपाल र नङ नकाट्नू ।
– शनि वार र औँसीको चतुर्दशीको दिन परदेश परदेश नजानू ।
– जन्म वारमा गरेको काम सफल हुन्छ ।
– औँसीको चतुर्दशी र पूर्णिमाको परेबाको दिन दसी नलिई कुनै सामान पनि अरूलाई नदिनू ।

कुचो

कुचो र सरसफाइ बारे पनि नेपाली समाजमा निषेधको लोक विश्वास पाइन्छ ।

– साँझमा कुचो लगाए, लच्छिन जान्छ ।
– कुचो ठड्याउनु हुँदैन ।
– कुचो नाघ्‍नु हुँदैन ।

सरसफाइ

-मान्छे परदेश गए भने, त्यो दिन भरि घर नबढार्नूस लुगा नधुनूस मूल ढोका नथुन्नू ।

उकालो, ओरालो, माथि, तल

संसारभरका मानव समाजमा उकालो र माथि राम्रो, ओरालो र तल नराम्रो मान्ने प्रवृत्ति पाइन्छ । नेपाली लोक विश्वासमा पनि त्यो प्रवृत्ति देखिन्छ ।

– सपनामा मान्छे लडेको नराम्रोस रूख लडेको पनि नराम्रो ।
– आँखा माथि फुरेको राम्रोस आँखा मुनि फुरेको नराम्रो ।
– सपनामा भर्‍याङ चढेको राम्रोस ओर्लेको नराम्रो ।

नेपाली समाजमा मान्छेका खास खास अङ्ग प्रत्यङ्गसँग पनि शुभ अशुभको लोक विश्वास जोडिएको पाइन्छ ।

– आठ वा बार महिनामा दाँत आयो भने शान्ति गर्नु पर्छ
– देब्रे हातले खानु, लेख्‍नु र पूजा गर्नु हुँदैन ।
– जिउमा मुसा आएको कालो भए, नराम्रोस सेतो भए, राम्रो ।
– ठूलो निधार भएको मान्छे भाग्यमानी हुन्छ ।
– खराउ खुट्टे लोग्ने मान्छे भाग्यमानी, आइमाई अभागी ।
– नङ फुलेको राम्रो, दाँत फुलेको नराम्रो ।
– प्रहरी, डाक्टर, नर्स र अस्पताल

नेपाली लोक विश्वास अनुसार अस्पताल, डाक्टर, नर्स र औषधि व्यवसायसँग सम्बन्धित मान्छे देखिए, बिरामी परिन्छ । त्यस्तै प्रहरी र सैनिक देखिए, मृत्यु वा रोगको भविष्य वाणी पनि गरिन्छ ।

– सपनामा प्रहरी र अस्पताल नराम्रो ।
– जोगी सपनामा देखेको राम्रो साइतमा देखेको नराम्रो ।

लास

नेपाली लोक विश्वास अनुसार लास हिँडाउँदै गरेको देख्यो भने, काम सफल हुने भविष्य वाणी गरिन्छ, तर लास छोयो भने, नुहाउनु पर्छ, नत्र अपवित्र होइन्छ ।

– लास छोएर नुहाउनु पर्छ ।
– लास देख्ता साइत पर्छ ।

जुठो

नेपाली समाजमा भए जस्तो ‘जुठो’ सबै हिन्दु समाजमा एकनासको हुने रहेनछ । नेपाली समाजमा ‘जुठो’ शब्दका तीन ओटा बेग्ला बेग्लै अर्थ छन् । ऐतिहासिक रूपमा ती अर्थहरू एउटै अर्थबाट फैलिए जस्ता लाग्छन् । कुनै आफन्त मर्‍यो भने, ‘जुठो’ पर्‍यो भनेर नेपालीहरू १३ दिन आशौच बार्छन् । कतै भातले छोयो भने पनि नेपालीहरू ‘जुठो’ ले छोयो भन्दछन् । त्यस्तै अरूको थुकले छोयो भने पनि कुनै खाने कुरालाई ‘जुठो’ भएको मानिन्छ । यी तीन ओटै उदाहरणमा ‘जुठो’ शब्दको अर्थ बिटुलो भन्ने हुन्छ, तर सबै किसिमको बिटुलालाई ‘जुठो’ भन्न पनि सकिँदैन ।

नेपाली संस्कृतिमा जुठो सम्बन्धमा पनि निषेधको लोक विश्वास पाइन्छ ।

– जुठा मुखले पढ्नु हुँदैन ।
– जुठो खानु हुँदैन ।
– जुठो पार्नु हुँदैन ।
– भात चलाएको पन्यु जुठो हुन्छ ।

साइत बिग्रिने

नेपालीहरू यात्रा गर्दा अथवा कुनै शुभ कार्य गर्दा ग्रह दशा अनुकूल होस् भन्ने इच्छा गर्छन् । कुन कुन मुहूर्तमा ग्रह दशा अनुकूल हुन्छ भन्ने कुरो ज्योतिषमा र पात्रामा लेखिएको पनि हुन्छ । ज्योतिषमा त्यसरी नलेखेका अरू धेरै कुराहरूमा नेपाली लोक विश्वास अनुसार यात्रामा साइत पर्दैन ।

-बिरालाले बाटो काट्यो भने, साइत पर्दैन ।
– हिँड्ने वेलामा रित्तो घैला देख्यो भने, साइत पर्दैन ।
– हिँड्ने वेलामा जोगी देखियो भने, साइत पर्दैन ।
– नछुने आइमाई अगाडि देख्ता साइत पर्दैन ।
– सर्पले बाटो काट्यो भने साइत पर्दैन ।
– हिड्ने वेलामा कहाँ जाने भनेर सोध्दा साइत पर्दैन ।

जन्म, मरण

मान्छेको जन्म र मरण बारे पनि नेपालीहरूका फरक फरक विशिष्ट लोक विश्वासहरू पाइन्छन् । अर्का तिर मान्छे मरे पछि किरिया गरेन भने मरेको मान्छे अगति पर्छ अर्थात् त्यसको मुक्ति हुँदैन ।

– सात महिनामा जन्मेको मान्छे भाग्यमानी हुन्छ ।
– औँसीका दिनमा जन्मेको बालख अलच्छिना हुन्छ ।
– घोप्टो जन्मेको बालख अलच्छिना हुन्छ ।
– मान्छेको बालख जन्म्यो भने सूतक लाग्छ ।
– किरिया नगरेको मान्छे अगति पर्छ ।

पोसाक

लुगाफाटो र पोसाक सम्बन्धमा पनि नेपालीका विशिष्ट लोक विश्वासहरू पाइन्छन् ।

– लुगाको सप्काले लाग्नु हुँदैन ।
– झुक्किएर उल्टो लुगा लगायो भने, पैसा आउँछ ।

भोजन

खानपान बारे पनि नेपालीहरूका लोक विश्वासहरू रमाइला छन् । खानपान सम्बन्धी त्यस्ता लोक विश्वासहरू आधारभूत रूपमा शारीरिक र सांस्कृतिक स्वास्थ्यसँग साइनो राख्छन् । त्यस्ता लोक विश्वासहरू विज्ञान सम्मत नहुने सम्भावनै धेर हुन्छ ।

– जाँड, रक्सी, सुँगुर, कुखुरा बाहुनले खानु हुँदैन ।
– रक्सी खानु चाहिँ हुँदैन, तर सपनामा देखेको राम्रो ।
– अर्कालाई देखाएर खायो भने चोखे लाग्छ ।
– मङ्सीरमा काँक्रो खाँदा गति परिन्छ ।
– साना जातले छोएको भात खानु हुँदैन ।
– बर्त बस्ता के के खानु हुन्छ के के हुँदैन ।
– तित्री खाँदा बेफाइदा गर्छ ।
– जाडामा फलफूल खायो भने मर्की लाग्छ ।
– मङ्सीरमा काँक्राको नाउँ लिनु हुँदैन ।

स्वाद

स्वाद सम्बन्धमा पनि नेपालीहरूको एउटा जन विश्वास फेला परेको छ । त्यो चाहिँ सपनासित सम्बन्धित छ ।

-सपनामा अमिलो पीरो नराम्रो, गुलियो राम्रो ।

अन्न

अन्न बारे पनि नेपाली संस्कृतिमा लोक विश्वासहरू भेटिएका छन् । गरिबले धेरै खाने भएकाले हो कि किन हो, देउतालाई कोदाको परिकार चढाउनु वर्जित छ । अर्का तिर कसैलाई अन्न वा पीठो दिँदा वा बेच्ता पनि दिएका ठाउँबाट अलिकति अन्न वा पीठो निकालेर मूल भाँडामा फर्काउनु पर्छ, जसलाई दुमो राखेको भनिन्छ ।

– देउतालाई कोदो चढाउनु हुदैन ।
– अरूलाई अन्न दिँदा अलिकति दुमो नराखे सह जान्छ ।

तेल

सपनामा तेल देखेको राम्रो मानिदैन । त्यस्तो सपना देख्‍ने मान्छे मर्छ भन्ने लोक विश्वास पाइन्छ ।

-सपनामा तेल देखेको नराम्रो ।

बत्ती निभेको

पूजा गर्दा बालेको दियो अथवा साँझ बत्ती राम्ररी बलेन भने अथवा निभ्यो भने निकट भविष्यमा केही अनिष्ट हुन्छ भन्ने नेपाली लोक विश्वास पाइन्छ ।

-बत्ती राम्रो बलेन भने, भलो हुँदैन ।
– बत्ती निभ्यो भने, अपशकुन हुन्छ ।

रित्तो र भरी घैला 

नेपाली लोक विश्वास अनुसार कतै हिँड्ने वेलामा भरी घैला देखेको राम्रो रित्तो घैला देखेको नराम्रो हुन्छ ।

-हिँड्ने वेलामा भरी घैला देख्यो भने, साइत पर्छस रित्तो घैला देख्यो भने, साइत पर्दैन ।

कालो र सेतो रङ
नेपाली लोक विश्वास अनुसार शुभ कार्य र सपनामा सेतो रङ देखेको राम्रो, कालो रङ देखेको नराम्रो हुन्छ ।

-सपनामा रुवो, खरानी, मोही र भात बाहेक सेतो देखेको राम्रो ।
– शुभ कार्यमा कालो रङ अशुभ हुन्छ ।
– जिउमा सेतो माकुरो चढ्यो भने शुभ, कालो अशुभ हुन्छ ।

धातु

नेपाली संस्कृति अनुसार तामा, काँस र सुन ज्यादै पवित्र धातु हुन् । तामा र काँस त नेपाली संस्कृतिमा ज्यादै गहिरो गरी गाडिएका छन् । तिनीहरूको बराबरी त सुनले पनि गर्न सक्तैन ।

-तामाका भाँडामा जुठो लाउँनु हुँदैन ।
– काँसका भाँडामा खाँदा स्वास्थ्य राम्रो हुन्छ ।
– सुन भेट्ता पनि हराउँदा पनि अशुभ हुन्छ ।
– घर र जिउ बिटुलो भयो भने, सुन पानी छर्किनु पर्छ ।

जन्तुका शकुन

यात्रा र सपनामा कुनै जन्तु देखियो भने नेपालीहरू शुभ ठानेर खुसी मान्छन् भने, अरू कुनै जन्तु देखियो भने अशुभ ठानेर नराम्रो मान्छन् । नेपालीहरूको लोक विश्वास अनुसार गाई, हात्ती, घोडा र मिर्ग देखिएको राम्रो, तर भैँसी र गधा अशुभ मानिन्छ । नेपाली लोक विश्वासले बिरालालाई पनि राम्रो मान्दैन । बाघ, मिर्ग र हात्तीको छाला चोखो मानिन्छ, तर सर्वत्र सधैँ पवित्र मानिने गाई र गोरुको छाला चाहिँ चोखो मानिदैन । माकुरो सेतो राम्रो, कालो नराम्रोस जिउमा चढेको राम्रो जिउबाट खसेको नराम्रो मानिन्छ ।

-सपनामा हात्ती देखेको राम्रो ।
– बाघ र मिर्गको छाला चोखो हुन्छस अरू जन्तुको छाला बिटुलो हुन्छ ।
– सपनामा भैँसी देखेको नराम्रो गाई देखेको राम्रो ।
– जिउमा सेतो माकुरो चढ्यो भने शुभ, कालो अशुभ हुन्छ ।
– गधालाई छुनु हुँदैन ।
– सर्प देखियो भने पानी पर्छ ।
– बिरालाले बाटो काट्यो भने, साइत पर्दैन ।
– सपनामा भैँसी देखेको नराम्रो ।
– कालो माकुरो अगाडि खसे, आफन्त मर्ने, जिउमा खसे, आफैँ मर्ने, खुट्टामा खसे नजिकैको आफन्त मर्ने ।
– सुँगुर छुनु चाहिँ हुँदैन, तर सपनामा देखेको राम्रो ।
– गाईलाई लात्ती लाग्‍नु हुँदैन ।
– घरमा कुकुर आएको राम्रो, बिरालो आएको नराम्रो ।
– कात्तिकमा सर्पको नाउँ लिनु हुँदैन ।
– कुकुर रोयो भने, नराम्रो हुन्छ ।

चरा

नेपाली संस्कृतिमा काग, गिद्ध, कोइरालो, हुटिट्याऊँ, हुँचिल, हाप्सिलो र उल्लु राम्रो र शुभ मानिदैन । काग करायो भने, कति पल्ट करायो त्यसको गन्ती गरेर शुभ अशुभ शकुनको अर्थ लगाउने चलन पाइन्छ ।

-एक पल्ट काग करायो, शुभ खबर छस दुई पल्ट काग करायो, पाहुना आउँछन्स तीन पल्ट काग करायो, मान्छे मर्‍योस चार पल्ट काग करायो, पैसा आउँछस पाँच पल्ट काग करायो, आफैँ रमायो ।
– कागले ठुँग्यो भने, दशा लाग्छ ।
– कागले सम्चार ल्याउँछ ।
– धुरीमा गिद्ध बस्नु हुँदैन ।
– कोइरालो, हुटिट्याऊँ, हुँचिल र हाप्सिलो करायो भने, मानिस मर्छ ।

उब्जनी, वनस्पति

नेपालमा कमल त्यति सर्वत्र हुँदैन, तर पनि कमलको पात नेपाली लोक विश्वासमा एकदम शुभ मानिन्छ । त्यस्तै, नेपाली समाजमा बेग्ला बेग्लै वनस्पति बारे उदेक लाग्दा पूर्वाग्रहहरू देखिन्छन् ।

-सपनामा कमलको पातमा खीर खाएको देखेको राम्रो ।
– लसुन, प्याज, गाजर, छ्यापी, टमाटर, बाहुनले खानु हुँदैन ।
– काँक्रा फर्सी धेरै फल्दा अलच्छिन लाग्छ ।
– मङ्सीरमा काँक्राको नाउँ लिनु हुँदैन, तर काँक्रो खायो भने, गति परिन्छ ।

दिशा, सपना

नेपाली लोक विश्वासमा दिशा प्रति पनि पूर्वाग्रह र निषेध पाइन्छ ।

-सपनामा उत्तर गएको राम्रो दक्षिण गएको नराम्रो ।
– उत्तर र पूर्व तिर सिरान लगाउनूस उत्तर तिर सिरान नलगाउनू । परदेश जाँदा पश्चिम तिर सिरान लगाउनू ।

भौगर्भिक, भौगोलिक प्रक्रिया

परम्परादेखि नेपालीहरू साइत र सपनामा भुमरी देखेको राम्रो मान्दैनन् । अर्का तिर भुइँचालो भर्दा पाथी भर्‍यो भने सह हुन्छ भन्ने मूर्खता पूर्ण लोक विश्वास साँचेर बस्छन् ।

-सपना र साइतमा भुमरी देखेको नराम्रो ।
– भुईँचालो जाँदा पाथी भर्दा सह हुन्छ ।

आकाशीय पिण्ड, ज्यौतिष प्रक्रिया

खगोलीय वस्तु र प्रक्रिया प्रति नेपालीहरूका परम्परागत लोक विश्वास पनि रमाइला छन् ।

-उल्का खस्यो भने अलच्छिन लाग्छ ।
– पहेँला घाममा बालख डुलायो भने, डुलुवा लाग्छ ।
– लाम्पुछ्रे तारो देखियो भने अनिष्ट हुन्छ ।
– सूर्य र चन्द्रमाको ओरिपरि इन्द्र पुरी सभा लाग्यो भने, ठूलो मान्छे मर्छ ।
– कैलो बिजुली चम्क्यो भने, हुन्डरी चल्छस रातो बिजुली चम्क्यो भने, खडेरी चल्छ ।
– ग्रहण लाग्दा नुहाएन भने, राहुले छुने हुनाले अपवित्र होइन्छ ।
– सपनामा बादल देखेको नराम्रो ।

निष्कर्ष

यहाँ नेपाली मातृभाषा हुनेहरूका लोक विश्वासको मात्र चर्चा गरिएको छ । नेपालमा भएका एक सय ओटा जति मातृभाषा बोल्नेहरू कहाँ पनि यस लेखमा चर्चा गरिएका कतिपय लोक विश्वासहरू मिल्न सक्छन् भने, हरेक मातृभाषा बोल्नेहरूका फरक फरक लोक विश्वास होलान् । नेपाली मातृभाषा हुनेहरूमै पनि भाषिकाको भेदले, जात र जातिका भेदले लोक विश्वासको लगत फरक हुन सक्छ । कुनै लोक विश्वासको सीमित भौगोलिक क्षेत्र पनि हुन सक्छ र कुनैको लोक विश्वास विस्तृत पनि हुन सक्छ । उल्लेख गरिएका कति लोक विश्वासहरू परम्परागत हिन्दु ग्रन्थबाट आएका पनि हुन सक्छन् ।भविष्यका अनुसन्धानले मात्र यी सबै सम्भावनाहरूको यथार्थ स्वरूप पहिल्याउला ।

 



प्रतिक्रिया दिनुहोस्