Logo

‘सेक्सिष्ट’ अभिव्यक्तिले नेताहरु समस्यामा



रिपोर्टर्स नेपाल, १६ फागुन । १५ औं शताब्दीका महान कवि कविरनाथको एउटा कविताको सार छः जिब्रो त्यस्तो चीज हो जो बोलिदिन्छ अनि लुक्छ, मारमा व्यक्तिलाई पार्छ । जिब्रोलाई बढी चलाउँदा प्रतिष्ठा र पद नै गुम्ने अवस्थाहरु बनेका छन् ।

अरुको आलोचना गर्दा जिब्रोलाई काबूमा नराखी बोल्नेहरु आफै अप्ठ्यारोमा परेका छन् । त्यस्तो समस्यामा नेपालका नेताहरु पनि पर्न थालेका छन् । पछिल्लो समय लोकप्रीय गायिका समेत रहेकी राष्ट्रिय सभा सदस्य कोमल वलीबारे नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्त विवादमा परेका छन् । उनले कोमल वलीले पिंडुला देखाएर केपी शर्मा आली सांसद पद प्राप्त गरेको अभिव्यक्ति दिएका थिए । उनले सार्वजनिक रुपमै भनेका थिए,‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाएर पोइला जान पाम भनेपछि सांसद त तिनै भइन् ।’

रघुजी पन्त यही बोलीका कारण अहिले बदनाम भएका छन् । उनको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । पन्तले यसबारे कुनै प्रतिक्रिया दिन मानेका छैनन् । कोमल वलीले भने यो अभिव्यक्ति समग्र महिलाविरुद्धको अपमान भनेकी छिन् । उनले सभ्य समाजमा महिलाको सम्मान हुने भन्दै पन्तलाई को को पिंडुला देखाएर सांसद भए ? देखाउन चुनौती दिएकी छिन् ।

महिलाको अपमान हुने बोली र व्यवहारको सोच र प्रवृत्तिलाई राजनीतिमा कुनै स्थान रहन नहुने बताएकी छिन् । उनले भनिन्,‘के महिला कुनै पदमा पुग्ने नुहने ? पद पुरुषका लागि मात्र बनेको हो ?’

यसअघि भीम रावलमाथि पनि महिलाबारे नकारात्मक अभिव्यक्ति दिएको आरोप लागेको थियो । उनले केपी ओलीले महिलाको किड्नी प्रत्यारोपण गरेकाले दिमाग बिग्रिएको भनी अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो । प्रधानमन्त्री ओलीले रावलको नाम नलिई मतिभ्रष्टको आरोप लगाएका थिए । रावलले भने यस्तो अभिव्यक्ति नदिएको दाबी गरे ।

नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालकोट गएर बस्न भनेकी थिइन् । उनको यो अभिव्यक्ति पनि विवादमा आएको थियो । स्मरणीय रहोस्, बालकोट प्रधानमन्त्री केपी शर्मा ओलीको निवास हो । यस्तो अभिव्यक्ति दिएपछि झाँक्रीमाथि राजद्रोहको दफा लगाई पक्राऊ गरिएको थियो । उनी पक्राऊ गरेकी दिन रिहा भइन् ।

विगतमा तत्कालिन कानुनमन्त्री शेरबहादुर तामाङले पनि महिलाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले बङ्गलादेशमा एमबीबीएस गर्न जाने महिलाहरु आफ्नै शिक्षकहरुको यौन शोषणमा पर्ने गरेको अभिव्यक्तिले विवादमा परे । शिक्षकहरुसँग सम्झौता गर्न वाध्य भएको उनको अभिव्यक्तिले पद नै गुम्यो । तामाङ राजीनामा दिन वाध्य भए ।

सभ्य समाजमा महिलाबारे विवादास्पद अभिव्यक्तिले पद र प्रतिष्ठा नै गुम्न सक्छ । जापानमा सेक्सिष्ट अभिव्यक्तिले टोकिया ओलम्पिक २०२० को आयोजक कमिटीका अध्यक्ष योसिरो मोरी राजीनामा दिन वाध्य भए । जापानका पूर्वप्रधानमन्त्री समेत रहेका मोरीले एउटा बैठकमा महिलाहरु बढी प्रतिष्पर्धी हुने उल्लेख गर्दै एकजनाले बोल्नलाई हात उठाएपछि अरु पनि बोल्नैपर्ने सोच हुनेगरेको बताएका थिए । उनले भनेका थिए,‘महिलाहरु धेरै भएको बोर्ड बैठकमा समय लाग्छ किन भने उनीहरु एकजनाले बोल्न हात उठाएमा अरुले पनि बोल्नुपर्ने सोच्छन् । यदि महिला सदस्यको संख्या बढाउनेबारे सोचियो भने बैठकको समयावधि तोकिएन भने समस्यामा परिनेछ ।’



प्रतिक्रिया दिनुहोस्