Logo

नेपाल, खनाल र गौतम एकजुट, एमाले फुटाएर नेपाली कम्युनिस्ट पार्टी गठनसम्मको तयारी



काठमाडौं, २९ फागुन । नेकपा एमाले फेरि फुट्ने अवस्थामा पुगेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार वरिष्ठ नेताहरु लाई केन्द्रीय सदस्यमा सिमित पारेपछि फुटको अवस्था बनेको हो ।

ओलीले घुमाउरो तरिकाले नेपाल, खनाल र उपाध्यक्षमा सर्वाधिक मत ल्याएर नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्ष बामदेव गौतमलाई कारबाही गरेपछि फुटको संघारमा एमाले पुगेको हो । ओलीले आफू र महासचिव इश्वर पोखरेललाई पदाधिकारी यथावत राखी अन्य पदाधिकारी र स्थायी कमिटी सदस्य कोही नरहने गरी केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा सिमित पारेका थिए । त्यसलगत्तै माधव नेपाल समूहको बैठक बसी निर्णय नमान्ने घोषणा गरेको थियो ।

ओलीले विधानको बाधा अड्काउ फुकाएको भन्दै कठोर कदम चालेपनि माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले गम्भीर छलफल बढाएका छन् । गौतमले अब ओलीसँग एकता हुन नसक्ने बताइसकेका छन् । उनले नयाँ ढंगले अगाडि बढ्ने रणनीति समेत तयार गरेका छन् ।

अब एमालेको माधव झलनाथ र बामदेव पक्षधर एक भई ओलीलाई कारबाही गर्ने या नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने तयारी गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी नाम जुराएर उक्त पक्ष केन्द्रीय समिति र संसदीय दलमा ४० ४० प्रतिशत पुर्याउने गरी बढेको बुझिएको छ ।

ओलीलाई प्रधानमन्त्रीबाट जतिसक्दो छिटो हटाउने गरी रणनीति समेत बनेको छ । एकताको सबै सम्भावना समाप्त भएको निष्कर्षसहित अब ओलीविरुद्ध नेताहरु कडा रुपमा प्रस्तुत हुने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्