काठमाडौं, २२ चैत्र । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढिलै भएपनि सकारात्मक र राम्रो निर्णय गरेको भन्दै स्वागत गरेका छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर गरेको निर्णय सकारात्मक भएपनि सरकार बनाउनको लागि अरुको सहयोग लिनुपर्नेपनि यादवले स्पष्ट पारे ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुको माग पूरा हुनुपर्नेमा पनि जोड दिए । सरकार कसरी बनाउने भन्नेबारे कांग्रेस सम्वादमा आए आफूहरु तयार रहेको र सोहीअनुसार निश्कर्षमा पुग्नेपनि उनले विश्वास दिलाए । यादवले सरकार बनाउने निर्णय नेपाली कांग्रेसले गरेको र जसपा त्यसको पछि कुदिहाल्नुपर्ने कुनै कारण पनि नरहेको जिकिर गरे ।
जसपा सरकारमा नजाँदा मुलुक अनिर्णयको बन्दी बन्ने स्थिति बनेको उल्लेख गर्दै उनले आफ्नो पार्टीको कारणले मुलुक अनिर्णयको बन्दी नबन्ने र उपलब्धि हानी हुने काम नगर्ने पनि विश्वास दिलाए । उनले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने पनि स्पष्ट पारे । उनले सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले किन फिर्ता नलिएको भन्दै प्रश्न गरे । उनले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछिमात्रै परिस्थिति परिपक्व हुने र जसपाले निर्णय लिने पनि जानकारी दिए ।