Logo

२०७८ मा ओली सत्तामा टिक्लान् कि हट्लान् ?



काठमाडौं, ३१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट २०७८ को सुर्योदय हेर्न नदिने गरी सत्तारुढ दलभित्रैबाट भएको प्रयास विफल भएको छ । २०७७ सालभित्रै ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भएका सबै योजनाहरु विफल भएको हो । तर, २०७८ साल ओलीका लागि चुनौतीपूर्ण छ ।

एकातर्फ ओलीलाई हटाउन सत्ता गठबन्धनको प्रयास चलिरहेको छ । अर्कोतर्फ, कोरोना भाइरसको दोस्रो लहरको खतरा बढेको छ । ओलीविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनको प्रयास चलिरहेको छ । तर, त्यो बन्न सकेको छैन ।

ओलीलाई हटाउन प्रमुख दलका प्रभावशाली नेताहरु लागेपनि नसक्नुले उनी झन् शक्तिशाली बनेको अर्थ लगाउन थालिएको छ । बरु उनी सत्तामा रहनेमा ढुक्क छन् । सत्ताबाट हटाउन चुनौती दिइरहेका छन् ।

नेकपा माओवादी केन्द्रलाई आफूलाई दिइआएको समर्थन फिर्ता गर्न ओलीले चुनौती दिइरहेका छन् । उनी अल्पमतमा परेर कि त विश्वासको मत लिने नभए सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्रीमै रहेर अर्ली इलेक्शन गराउने दाउमा देखिएका छन् । ओलीले बारम्बार ताजा जनादेशका लागि चुनावमा जोड दिइरहेका छन् ।

ओलीलाई सत्ताबाट हटाउन काँग्रेस, माओवादी र जसपाको गठबन्धन बन्नुपर्छ । तर, तीनवटै दल फुट्न हुँदैन । जसपाभित्र ओलीसँग मिलेर जाने या हटाएर नयाँ सत्ता गठबन्धन बनाउनेबारे मतभेद छ । महन्थ ठाकुर पक्षधर ओलीसँग मिलेर जाने पक्षमा छ । उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीलाई हटाउनुपर्ने भन्दै गठबन्धन बनाउन सक्रिय छन् । दुवैले नेताले वर्षको अन्तिम दिन आज बुढानिलकण्ठ पुगेर काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटी महत्वपूर्ण प्रस्ताव राखेका छन् ।

ओलीलाई सत्ताबाट हटाउन कि त अविश्वासको प्रस्ताव ल्याएर पारित गराउनुपर्छ कि त उनी आफैले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । उनले राजीनामा नदिने निश्चितप्रायः छ । अविश्वासको प्रस्ताव ल्याएर हटाउन पनि प्रधानमन्त्रीका लागि सहमति निर्माण हुनुपर्छ । जुन दलहरुका लागि फलामको च्युरा चपाउनु सरह भइरहेको छ ।

अर्को रोचक पक्ष, ओली जसरी अर्ली इलेक्शन चाहिरेका छन् । त्यसरी नै काँग्रेस सभापति शेरबहादुर देउवा चुनावमा जोड दिइरहेका छन् । महन्थ ठाकुर पनि चुनावको पक्षमा देखिएका छन् । यही एजेन्डाले यी तीन नेताबीच कुनै न कुनै रुपमा निकटता देखिन्छ ।

देशमा ओलीको सत्ता टिकेमा कि त जसपाको साथले टिक्न सक्छ कि त अर्ली इलेक्शनका लागि देउवाको साथले टिक्न सक्छ । चार्तुयतापूर्वक राजनीतिक अस्त्रहरु हान्दै आएका ओलीले २०७८ सालमा २०७७ सालमा जस्तै अस्त्रहरु फालेर विरोधीलाई चक्मा दिन सक्ने हुन् या होइनन् ? प्रतिक्षाको विषय छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot