Logo

कर्णाली प्रदेश सरकारः कोरोना व्यवस्थापनमा साढे ५३ करोड



सुर्खेत, असार ११ । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साढे ५३ करोड रुपैयाँभन्दा रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जानकारी दिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य शिक्षा, उत्पादन र पूर्वाधारमा केन्द्रित रहेको बताए । ‘हामीले राकम कर्णालीमा ट्रमा सेन्टर स्थापनादेखि प्रदेश राजधानी सुर्खेतमा उच्च क्षमताको अक्सिजन प्लान्टसँगै अन्य जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापना गरिँदै छ,’ उनले भने, ‘कोरोना महामारी नियन्त्रणमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीलाई तलबको शतप्रतिशत जोखिम भत्ता, सबै नागरिकलाई कोरानाविरुद्धको खोप लगाउने लगायतका योजना बजेटमा समावेश छन् ।’ उनले प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबईमा सेन्सरसहितको हेल्थडेस्क राखिने जानकारी दिए ।

कोभिड–१९ लगायत महामारीबाट कर्णालीलाई सुरक्षित राख्न अत्यावश्यक औषधि, स्वास्थ्य सामग्री एवं उपकरणको उपलब्धता, अत्यावश्यक खाद्यान्नको भण्डारण, खाद्य सुरक्षा, रोजगारी सृजनालाई बजेटको प्राथमिकतामा दिएको मन्त्री शर्माले बताए ।

उनका अनुसार बजेटमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा, प्रत्येक सामुदायिक विद्यालयमा नर्सिङ सेवा, एक स्थानीय तह एक नमूना विद्यालय, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना, बैंक, खाता छोरीको सुरक्षा जीवनभरिको, प्रत्येक घरमा स्वरोजगार बनाउन अनुदान, तीन सय कृषि प्राविधिकलाई स्वरोजगार, उत्कृष्ट किसानलाई सुनको हलो अंकित तक्माले सम्मान गर्ने कार्यक्रम समावेश छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्