Logo

अब सार्वजनिक सवारीलाई पनि जोरबिजोर



काठमाडौं, असार १४। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने कि केही दिन पर्खने भन्नेमा छलफल भएको तर टुंगो भने नलागेको बताए ।

‘निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने भन्ने विषयमा छलफल भयो, सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने भन्ने विषय पनि उठेका छन्, तर टुंगो लागेको छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।

निषेधाज्ञाको मोडालिटीलाई अब कसरी अघि बढाउने भन्ने विषय थप छलफलपछि सोमबार बस्ने बैठकले टुंगो लगाउने उनले जानकारी दिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सार्वजनिक सवारी साधनलाई सीमा तोकेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार यसरी सीमा तोक्दा साना सवारी साधनभन्दा ठूला र दूरी कायम हुन सक्ने सवारी साधन सञ्चालन हुन सक्नेछन् । तर, सो विषय छलफल पछि मात्रै टुंगो लाग्ने उनले जनाएका छन् ।

यसैगरी, पसल तथा व्यवसाय सञ्चालनका लागि पनि बारअनुसार भन्दा समय निर्धारण गरेर सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको छ । यसरी समय निर्धारण गर्दा कुन र कस्ता पसल कुन समयमा खोल्न पाइने भन्ने तोकिनेछ ।

यस्तै, राजनीतिक कार्यक्रम, सभा सम्मेलन, विवाह, व्रतबन्ध, सभा तथा जुलुसजस्ता कार्यक्रम भने अझै केही समय सञ्चालनमा रोक लगाइने तयारी भइरहेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot