Logo

ओली गुटमा पुगेका सांसदलाई तान्दै नेपाल



काठमाडौं, १२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उनीपक्षधर नेताहरु पछिल्लो समय निकै सक्रिय भएका छन् । उनीहरु आफ्नो पक्षमा जतिसक्दो बढी सांसद र केन्द्रीय सदस्य बनाउन सक्रिय भएका हुन् ।

नेता नेपाल जतिसक्दो छिटो एमालेमा वार कि पारमा लागेका छन् । उनले सकेसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अल्पमतमा पार्ने प्रयास गरिरहेका छन् । त्यसका लागि उपाध्यक्ष बामदेव गौतम सक्रिय छन् । गौतमले सांसद र केन्द्रीय सदस्यहरुलाई धमाधम तान्ने प्रयासलाई बढाइरहेका छन् । विगतमा आफूसँग निकट रहेर ओली गुटमा लागेकालाई गौतमले भेटेरै साथमा ल्याउन खोजिरहेका छन् ।

नेपाल र गौतमको निकै प्रयासका बाबजुद पनि ओलीलाई संसदीय दल र केन्द्रीय कमिटीमा अल्पमतमा पार्न नसकिने अवस्था देखिएको छ । अन्तिम समयसम्म कोशिश गर्ने नसके ४० प्रतिशत पुर्याएर अगाडि बढ्ने तयारी समेत गरेका छन् । त्यसो पनि नपुगे दल विभाजन सजिलो बनाउने राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्छ ।

जे जस्तो परिस्थिति भएपनि नेपाल र गौतम ओली गुटमा लागेका बढीभन्दा बढी सांसद तान्न सक्रिय छन् । आफूसँग असन्तुष्ट पार्टी उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यलगायतलाई कन्भिन्स गर्ने माधव नेपालको प्रयास चलिरहेको छ । तर, रावल फर्कनेमा नेपाल विश्वस्त हुन छाडेका छन् । पाण्डेलाई भने फर्काउने उनको प्रयास बढी छ ।

रावल नआएपनि ४० प्रतिशत सांसद पुग्ने दाबी माधव नेपाल पक्षको छ । विगतमा आफ्नो पक्ष छाडेका केही सांसदहरुतर्फ नेपालको ध्यान खिचिएको छ । झण्डै साँढे ३ वर्ष एमाले सरकार हुँदा मन्त्री बन्न नपाएर असन्तुष्ट बनेकालाई सम्झाएर तान्ने प्रयास पनि नेपालले गरिरहेका छन् ।

माधव नेपालले देउवा सरकारमा ८ मन्त्रालय पाउने चर्चा छ । त्यसले पनि कतिपय सांसदहरु आकर्षित हुने सम्भावना छ । नेपाल पक्ष सबै अस्त्र फालेर सांसद तान्न सक्रिय छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot