Logo

चीनले सीमा मिचेको पत्ता लगाउन हुम्लामा होमिदै जयनारायण



काठमाडौं, २० भदौ । सरकारले चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न कमिटी गठन गरेलगत्तै यथार्थ पत्ता लगाउन टोली खटाउने निर्णय गरेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा टोलीलाई चीनसँगको सीमामा पर्ने हुम्लाको नाम्खामा अध्ययनका लागि खटाउने निर्णय गरेको छ ।

सहसचिव आचार्य नेतृत्वको टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारीहरु रहेका छन् । आचार्य कर्णालीमै जन्मिएका सरकारी अधिकारी हुन् । उनी सप्तरीको प्रमुख जिल्ला अधिकारी थिए ।

यसअघि दार्चुला घटनाको अध्ययन गर्न बनाइएको जाँचबुझ कमिटीको नेतृत्व लिएका जर्नादन गौतमलाई सप्तरी खटाइएको छ ।

सरकारले १६ भदौमा बसेको मन्त्रिपरिषदको बैठकबाट चीनसँग सीमा समस्यका लागि जाँचबुझ गर्न अध्ययन कमिटी गठन गर्ने निर्णय गरेको थियो । यो कदमपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ती जनाउँदै चीनसँग कुनै सीमा समस्या नभएको दाबी गरेका छन् । उनले भारतलाई खुशी पार्न देउवा सरकारले अध्ययन कमिटी गठन गरेर समस्या ल्याउन खोजेको आरोप समेत लगाएका छन् ।

चीनसँग हुम्लासहित ४ जिल्लामा सीमा समस्या रहेको विगतको प्रतिवेदनमा उल्लेख छ । हुम्लाका सांसद जीवनबहादुर शाहीले चीनले सीमा मिचेको भन्दै छानविनको माग गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot