Logo

एमालेको विधान महाधिवेशन दक्षिणपन्थी अवसरवादीहरूको पञ्च र्‍याली हो : खनाल (भिडिओसहित)



काठमाडौं, असोज १६ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका शीर्ष नेता झलनाथ खनालले एमालेको विधान महाधिवेशन दक्षिणपन्थी अवसरवादीहरूको ज्याम्बोरी भएको बताएका छन् । केपी ओली धुपौरे, हनुमान र रमितेहरू बटुलेर पञ्च र्‍याली गरिरहेको उनको आरोप छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “गोदावरीमा एमालेको विशेष महाधविशेन दक्षिणपन्थी अवसरवादको कुम्भमेला हो, ज्याम्बोरी हो । त्यहाँ संस्थागत रुपमा भइरहेको केपी ओलीको देवत्वकरण पेटी बुर्जुवा प्रवृत्ति हो । हाई हाई केपी, आई लभ केपी जस्तो देवत्वकरण गैरकम्युनिस्ट चरित्र हो । यो सामन्ती संस्कृतिको प्रतिबिम्ब हो र राजा महाराजाको फोटोकपी हो । तिनलाई आफ्नो लक्ष्य, सिद्धान्त, आदर्शसँग मतलब छैन, गाली गर्न पाए पुग्यो । सच्चा कम्युनिस्ट त विधि, सिद्धान्त र नीतिनिष्ट पो हुन्छ ।”

उनले थपे, “हिजो ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुट खडा गरेका थिए । नवौं महाधिवेशनमा त्यही गुटबन्दीले नेतृत्व कब्जा गर्‍यो र पार्टीलाई दक्षिणपन्थी अवसरवादमा धकेलेर पठायो । पार्टीलाई गलत दिशामा हाँक्दै सरकार बनेपछि निरंकुशतावाद, सर्वसत्तावाद, व्यक्तिवाद र अहंकारवाद लागू गरे । ओलीले गुट बनाएकै त्यसका लागि हो । उनी आलोचकसँग सहकार्य गर्न सक्दैनन् । उनको ध्यान नै वरिपरि धुपौरे, हनुमान, एसम्यानहरु बटुल्नेमा छ । २०४६ सालको चैतमा पञ्चहरु पञ्च र्‍याली गरिरहेका थिए । २६ गते त बहुदलीय घोषणा भयो । अहिले पनि धेरै जना रमिता हेर्न आएका हुन् ।”

एमालेको दोस्रो र तेस्रो पुस्ताका नेताहरु ओलीको मूतको न्यानोमा निदाएकोआरोप पनि लगाए । उनले भने, “हिजो त ओली विरुद्ध आवाज उठाउनेहरु थिए, अहिले ओलीको देवकत्वकरणसामू लज्जावती झारजस्तो मुर्झाएका छन् । एमालेमा अरुको भ्वाइस छैन, ओलीको मात्र भ्वाइस छ । उनले दुई तिहाइ बहुमत ध्वस्त पारेको कुरा कसैले उठाउँदैन । दुईदुई पटक संसद् विघटन गरेर लोकतन्त्रमाथि खतरा उत्पन्न गरे । अहिले संसद् चल्न दिएका छैनन्, त्यो भष्मासुरे शक्ति हो । यस्तो गुटको भविष्य छैन ।”

अब ओली प्रवृत्तिलाई पराजित गर्नुपर्ने नेता खनालले बताए । उनले भने, “ओलीले जहिल्यै गुट मात्र बनाए । उनले कमिटी मानेनन्, विधि मानेनन् । न अध्यक्ष हुँदा न प्रधानमन्त्री हुँदा । उनी देशभित्रका प्रतिक्रियावादी र साम्राज्यवादीको सेवा गर्ने एजेन्ट हुन् । ओली भनेको तानाशाहको रुप हो । तर उनी सी जिनपिङ होइनन् । सीले सिंगै पार्टीलाई एकढिक्का गरे, १ अर्ब ४० करोड जनतालाई एकताबद्ध गरे, गरिबी उन्मूलन गरे । तर केपीले त पार्टी, सचिवालय, स्थायी कमिटी केही पनि एकताबद्ध गर्न सकेनन् । पार्टी र कमिटी चलाउन नसक्ने मान्छेले के देश चलाउँछ ?”

नेकपा एमालेका पूर्व अध्यक्ष खनालले विशेष महाधिवेशनका तीन वटा दस्तावेज पढ्दा एमाले ‘भाइ कांग्रेस’ भएको ठोकुवा गरे । उनले भने, “एमालेले मार्क्सवाद, लेनिनवाद छाड्यो । एमाले अब समाजवाद होइन, पुँजीवादतिर लागेको छ । उसको काम भनेको भ्रम फिँजाउने र प्रतिक्रियावादीलाई पोस्ने हो । अब उही संसद्वादमा फस्ने हो । एउटा चुनावदेखि अर्को चुनावबाहेक उसलाई अरु चिन्ता छैन ।”

कार्यक्रममा खनालले एमाले र नेकपा (एकीकृत समाजवादी) आधारभूतरुपमै भिन्नता भएको बताए । उनले भने, “हामीबीच आधारभूत रुपले भिन्नता छ । नेपाली समाजको वर्गविश्लेषण, नीति कार्यक्रम, कार्यदिशा, मार्गचित्र मिल्दैन । एमाले नेतामुखी छ, हामी नीतिमुखी छौं, एमाले एकल नेतृत्वमा विश्वास गर्छ, हामी सामूहिक नेतृत्वमा विश्वास गर्छौं । एमाले विकल्प देख्दैन, हामी विकल्पै विकल्प देख्छौं । एमाले र एकीकृत समाजवादी कालो र सेतो जस्तै भइसके ।” केपी ओली सरकारले विगतमा ल्याएको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ आफूले नवौं महाधिवेशनमा ल्याएको पनि उनले बताए ।

गठबन्धनका पाँच दलबीच साझा कुरालाई फराकिलो बनाउदै मतभिन्तालाई साँघुर्‍याउँदै जानुपर्ने उनले बताए । उनले भने, “हामी मत नमिल्ने कुरालाई स्थगित गर्छाैंं । विगतका आन्दोलनहरुमा पनि साझा कुरामै अघि बढेका हौं । अब पनि लोकतन्त्र, संविधान, अग्रगमन आदिमा जोड दिन्छौं । हामी एमाले जस्तो एक्लो ढेडु र राष्ट्रिय राजनीतिबाट अलगथलग भएर होइन, एकजुट भएर जानुपर्छ ।”

एमसीसी संशोधन गर्न अमेरिका सरकार तयार हुनुपर्ने उनले बताए । उनले भने, “हामीले अमेरिकी सहयोगको विरोध गरेका छैनौं । अमेरिका सुपर पावर र नेपाल कमजोर देश भए पनि सार्वभौमसत्ता समान हो । अमेरिकाको ५५ करोड डलरभन्दा हामीलाई देशको स्वतन्त्रता र सार्वभौमसत्ता लाखौं गुना प्रिय छ ।”

कार्यक्रममा नेता खनालले ‘नेपाली बहस’ पाँच वर्ष प्रवेश गरेको अवसरमा पत्रकार धमलालाई बधाई पनि दिए । उनले भने, “नेपाली बहसमार्फत तपाईंले विभिन्न नेता, कार्यकर्ताका विचार प्रवाह गरिरहनुभएको छ । राजनीतिक बहस मार्फत समझदारी निर्माण गर्नमा तपाईंको विशेष योगदान छ ।”



प्रतिक्रिया दिनुहोस्