Logo

‘आइजीपी बन्न’ सिलवाल, अर्याल, चन्द र भण्डारी ‘भारतीय दूतावास छिरेको’ खुलासा



काठमाडौं, १९ असोज । नेपाल प्रहरीको २६औं आइजीपी नियुक्ति सबैभन्दा विवादास्पद भएको थियो । त्यतिबेला डिआइजीबाट सिधै आइजीपी नियुक्त भएका थिए । प्रतिष्पर्धामा ४ जना थिए ।
डिआइजी बढुवा हुँदा नवराज सिलवाल पहिलो नम्बरमा थिए । दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा जयबहादुर चन्द र चौंथोमा बमबहादुर भण्डारी थिए । सिलवाल र चन्दबीच चर्को प्रतिष्पर्धा चलेको थियो । दुवैजना राजनीतिक देखि अन्तर्राष्ट्रिय शक्ति लगाउन लागिपरेका थिए ।

सिलवालको पक्षमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधि थिए । चन्दको पक्षमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थिए जसको नेतृत्वमा रहेको दल सरकारमा थियो ।

सिलवाल र चन्दबीच चर्को प्रतिष्पर्धाले आइजीपी सुरुमा चन्द बनेपनि अदालतको आदेशले निर्णय बदल्नुपरेको थियो । पछि अर्यालयको भाग्योदय भयो । सिलवाल मुद्दा मामलामा लागे । पछि प्रहरी सेवा छाडी एमाले राजनीति हुँदै सांसद सम्म बने ।

चन्द ओली सरकारका पालामा संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिशमा परे । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त छन् ।

नेपाल प्रहरीको २६औं आइजीपी बन्ने दौडमा रहेका ४ जना डिआइजी भारतीय राजदूतावास छिरेको खुलासा भएको छ । त्यतिबेला आइजीपीका प्रतिष्पर्धी नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी समेतले तत्कालीन भारतीय राजदूत रञ्जीत रेलाई भेटेका थिए । यसको खुलासा रेको हालै प्रकाशित पुस्तकमा छ ।

पुस्तकमा रेले चारै जना आइजीपीका प्रतिष्पर्धीले आफूलाई इन्डिया हाउसमा भेटेको खुलाएका छन् । उनले भनेका छन्, ‘मैंले उनीहरुलाई भेट्न निम्तो दिएको थिइनँ ।’

४ जना आइजीपीका प्रतिष्पर्धीहरुले तत्कालीन भारतीय राजदूत रेलाई भेटेको खुलेपछि हलचल पैदा भएको छ । त्यसमाथि पनि तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले आइजीपी नियुक्तिबारे आफूसँग सल्लाह लिएको खुलासा गरेका छन् । त्यसलाई निधिले निराधार भन्दै आपत्ती व्यक्त गरेका छन् ।

रे को काठमाडौं डिलेमा रिसेटिङ इन्डिया नेपाल टाइज पुस्तकमा यसबारे उल्लेख छ ।

रञ्जीत रेको पुस्तकमा आइजीपीका तत्कालीन प्रतिष्पर्धीहरुको भेटको खुलासा



प्रतिक्रिया दिनुहोस्