Logo

राजधानीमा दशैं लक्षित खोप अभियान शुरू



काठमाडौं, असोज २१ । राजधानीको बजार क्षेत्रमा भीडभाड बढ्न थालेको भन्दै सर्वत्र विरोध हुन थालेपछि कोभिड संक्रमण रोक्न काठमाडौं महानगरपालिकाले दशैंलक्षित तीनदिने खोप अभियान शुरु गर्ने भएको छ । ललितपुर महानगरपालिकाले हिजो बुधबारबाट सबै वडामा तीन दिनसम्म खोप अभियान शुरु गरेको छ भने कामपाले असोज २२ देखि शुरु गर्ने भएको छ ।

कामपा जनस्वाथ्य विभाग प्रमुख हरिबहादुर कुँवरले तीनदिने अभियानमा यसअघि पहिलो मात्रा लगाउन नभ्याएका महानगरवासीलाई सहभागी हुन आह्वान गरेका छन् । उनले भने– ‘यो दशैं लक्षित अभियान हो, तिहार र छठमा पुनः अभियान सञ्चालन गर्नेछौँ ।’ उनका अनुसार अभियान शुरु भएयता हालसम्म कामपाबाट करिब ८ लाख जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसकिएको छ । विभागीय प्रमुख कुँवरले तीनदिने अवधिमा १८ वर्ष उमेरमाथिका करिब ८० हजार जनसंख्यालाई खोप लगाउने योजना रहेको बताए । कामपाले यसअघि असोज ११ गतेदेखि तीन दिनसम्म अभियान सञ्चालन गरेको थियो ।

कामपाले बढी भीडभाड हुने क्षेत्रका बासिन्दालाई खोप लगाउन आग्रह गरिरहेको छ । दशै शुरू भएलगत्तै असन, इन्द्रचोक, मखन, भोटाहिटी, न्युरोड, कालिमाटी, बल्खु, बानेश्वर, कोटेश्वर, बालाजु बसपार्कलगायतका क्षेत्रमा सयौं जनताकोे भीड बढ्न थालेपछि कामपाले स्थानीयलाई सार्वजनिक अपिल गरेरै खोप लगाउन आग्रह गरेको हो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot