Logo

पहिलो त्रैमासिकमै करीब डेढ खर्ब बराबरको लगानी प्रस्ताव



काठमाडौं, कार्तिक ७ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै करीब डेढ खर्ब बराबरको स्वदेशी तथा विदेशी लगानी प्रस्ताव भएको छ ।

उद्योग विभागले हालै सार्वजनिक गरेको त्रैमासिकको विवरणअनुसार ३ महीनाको अवधिमा १ खर्ब ४६ अर्ब बराबरको लगानीका स्वदेशी तथा विदेशी उद्योग दर्ता भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्ममा १ खर्ब २२ अर्ब बराबरको लगानीमा स्वदेशी ८७ उद्योग दर्ता भएका छन, जसमा २६ ओटा ठूलो, ३४ ओटा मझौला र २७ ओटा साना उद्योग दर्ता भएको तथ्यांकले देखाउँछ । सोही अवधिमा २४ अर्ब बराबरको १ सय ७ ओटा विदेशी उद्योग दर्ता भएका छन् ।

दर्ता भएको उद्योग र लगानीको अवस्था हेर्दा पछिल्ला वर्षहरूमा उद्योग दर्ताको संख्यामा कमी आएको देखिन्छ भने विदेशी लगानी प्रतिबद्धतामा केही मात्रा वृद्धि भएको तथ्यांकले पुष्टि गर्छ ।

आर्थिक वर्ष २०७४/७५ को पहिलो ३ महीनामा १ सय ३९ उद्योग दर्ता भएका थिए । त्यति बेला ७३ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । चालू आर्थिक वर्ष २०७८/८९ को साउन–असोजसम्म भने ८७ उद्योग दर्ता भएको र तिनमा १ खर्ब २२ अर्ब १८ करोड २० लाख रुपैयाँ रकम लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot