Logo

ढुवानीमा कोन्करको बाहानाबाजी



वीरगञ्ज, पुस ९ । रेलमार्फत कन्टेनर ढुवानीमा सेवाप्रदायकबीच प्रतिस्पर्धा बढेपछि नेपालको वैदेशिक व्यापारमा त्यसको लाभ पुग्ने अपेक्षा गरिएको थियो । तर, लाभ त परको कुरा यति बेला आयातकर्तालाई यो थप हैरानीको कारण बन्न पुगेको छ ।

भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाहबाट निजी रेलसेवा प्रदायकले सेवा शुरू गरेको ३ महीना बितिसकेको छ । यो प्रतिस्पर्धा नेपाली आयातकर्ताका लागि समस्याको एकअर्को अध्याय बन्न पुगेको छ ।

नेपाल–भारत रेलसेवा सम्झौता संशोधनबाट नेपालका लागि कन्टेनर ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार अन्त्य भएको थियो । डेढ दशकसम्म ढुवानीका एकाधिकार चलाएको कोन्करले अहिले विभिन्न बहानामा बखेडा झिक्न थालेको आयातकर्ताले बताए ।

भदौको अन्तिम साता भारतकै हिन्द टर्मिनलले कोन्करको प्रतिस्पर्धामा पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाहमा रेल ल्याएको थियो । त्यही दिन ३० देखि ३५ प्रतिशतसम्म भाडा घटाएर प्रतिस्पर्धी कम्पनीलाई हतोत्साहित गर्न खोजेको कोन्करले त्यो प्रयास सफल नभएपछि अहिले कोलकाताबाट कन्टेनर लोडिङमा समस्या सृजना गरेको सिपिङ कम्पनीका प्रतिनिधिले बताए ।

अहिले भारतीय बन्दरगाहबाट कोन्करका साथै हिन्द टर्मिनल र प्रिस्टिन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले ढुवानी सेवा दिइरहेका छन् । प्रिस्टिन सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टिन भ्यालीको मुख्य साझेदार पनि हो ।

कोन्करले कोलकाता बन्दरगाहमा रेल र्‍याक उपलब्ध नगराउँदा कन्टेनर ढुवानीमा विलम्ब भइरहको छ । सिपिङ कम्पनीले सीआईएफ वीरगञ्जका लागि जिम्मा लिएका कन्टेनरको ढुवानीमा कोन्करले र्‍याक उपलब्ध नगराउन बाहानाबाजी गरिरहेको छ ।

कोन्करले र्‍याक उपलब्ध नगराएपछि डिसेम्बर ३ तारीखमा अनलोड भएका कन्टेनरसमेत अहिलेसम्म कोलकाता बन्दरगाहमा थन्किएको सिपिङ कम्पनीका प्रतिनिधिले बताए । सिपिङ कम्पनीले वीरगञ्जसम्म ढुवानीको शर्त स्वीकार गरेका हुन्छन् ।

अहिले कोलकातामा हुने विलम्बको शुल्कको भार सोझै आयातकर्तालाई नपरे पनि समयमै मालसामान नआउँदाको व्यावसायिक नोक्सानीको जोखिम भने बढेको आयातकर्ता प्रदीपकुमार केडिया बताउँछन् ।

अहिलेसम्म ढुवानी प्रतिस्पर्धाका लाभ आयातकर्ताले पाएका छैनन् । सीआईएफ वीरगञ्जका लागि आउने कन्टेनरमा सिपिङ कम्पनीले नै ढुवानीकर्तासँग भाडा तय गर्ने भएकाले प्रतिस्पर्धाको लाभ पनि सिपिङ कम्पनीले उठाएका छन् ।

प्रतिस्पर्धाबाट भाडामा लाभ उठाउन नपाएका आयातकर्ता अब कोन्करको रवैयाबाट कन्टेर ढुवानीसमेत समयमै नपाउने भएका छन् ।

कोलकातामा विलम्ब जारी रहे सिपिङ कम्पनीले त्यसको आर्थिक नोक्सानी आयातकर्तासित असुल्ने चिन्ता आयातकर्ताको छ । अन्ततः यो खर्चको भारत नेपाली उपभोक्ताको टाउकोमा जान्छ ।

शुरूमा भाडा घटाएर प्रतिस्पर्धी कम्पनीलाई प्रभावित पार्न खोजेको कोन्करले अहिले रेल र्‍याक उपलब्ध नगराएर ढुवानीमा अप्ठ्यारो पारिरहेको छ । अन्य प्रतिस्पर्धी कम्पनी पूर्वाधारका हिसाबमा कमजोर भएकाले अहिले पनि ९० प्रतिशत कन्टेनर ढुवानी कोन्करकै हातमा रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot