Logo

इजरायललाई ‘चेतावनी दिन’ इरानले प्रहार गर्‍यो १६ वटा मिसाइल



एजेन्सी, ११ पुस। इजरायललाई चेतावनी दिन इरानले १६ वटा मिसाइल प्रहार गरेको छ। इरानको अर्धसैनिक बल इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्सले पाँच दिनको अभ्यासको अन्त्यमा मिसाइल प्रहार गरेको हो। मिसाइलले सतहदेखि सतहमा मार हान्न सक्ने रहेको बताइएको छ।

सैन्य अभ्यासका क्रममा प्रहार गरिएको मिसाइल पूर्ण रूपमा सफल रहेको स्थानीय सञ्चारमाध्यमले समाचार लेखेका छन्। मिसाइल प्रहार गरिरहेको दृश्य राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिएको अलजजिराले जनाएको छ।

मिसाइल प्रहारपछि इरानी सेनाले प्रतिक्रिया दिँदै सो प्रहार यहुदी शासकलाई चेतावनी रहेको बताएको छ। ‘यी अभ्यासहरू भर्खरै यहुदी शासकले दिएको धम्कीको प्रतिक्रिया स्वरूप हुन्’, इरानको सशस्त्र बलका प्रमुख मेजर जनरल मोहम्मद बाघेरीले भने। उनले प्रहार गरिएको मिसाइलले कुनै पनि देशलाई तहसनहस पार्न सक्ने बताए। इरानमाथि कसैले आक्रमण गरे त्यसको जवाफ ती मिसाइलले दिने उनले चेतावनी समेत दिए।

इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले बुधबार अमेरिकी रक्षा सल्लाहकारलाई भेट्ने क्रममा इरान ‘परमाणु ब्लाकमेल’ मा लागेको आरोप लगाएका थिए। त्यस्तै उनले त्यसबाट प्राप्त भएको राजश्वले इरान इजरायलीविरुद्ध हतियार उत्पादनमा लाग्ने खतरा रहेको बताएका थिए। त्यससँगै इजरायली नेताहरूले इरानमाथि कारबाही गर्न सकिने सङ्केत गरेका थिए।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot