Logo

माओवादीमा सत्यनारायणले गिरिराजमणिलाई ‘अपराधी’ भनेपछि…



काठमाडौं, १५ पौष । नेकपा माओवादी केन्द्रमा नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ । आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफलमा मधेशबाट प्रतिनिधित्व गर्ने दुई नेताबीचको विवाद प्रकट भएको हो ।

प्रदेश २ का दुई प्रभावशाली नेताबीचको द्वन्द्व छरपष्ट भयो । दुवै पूर्वमन्त्री हुन् ।सत्यनारायण भगतले स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेललाई सिधै ‘अपराधी’ भने । कारण थियो पोखरेलले निर्मल लामाको शालिक बनाउन लागेको विषय । रामवृक्ष यादवको शालिक ढालेर निर्मल लामाको शालिक बनाउन लागेको भन्दै भगतले गम्भीर प्रश्न उठाए ।

माओवादी जनयुद्धमा मधेशमा मारिने पहिलो नेताका रुपमा रामवृक्ष यादवको नाम छ । उनको शालिक ढालिएको छ । यसमा पोखरेललाई भगतले आरोप लगाए ।

महोत्तरीमा रामवृक्षको शालिक थियो । गत वर्ष उक्त शालिक ढालिएको थियो । त्यस क्षेत्रमा निर्मल लामाको शालिक बनाउन लागिएको भन्दै मधेशका माओवादी नेताहरु गिरिराजमणि पोखरेलमाथि आक्रामक बन्दै आएका छन् । सत्यनारायण भगतले बुधबार बोल्ने क्रममा शालिक ढाल्ने अपराधी हो भनी पोखरेलको नामै लिएका थिए ।

यो आरोपभित्र मातृका यादव पनि मुछिएका छन् । मातृका यादव पनि रामवृक्षको शालिक ढालिएको विषयमा असन्तुष्ट छन् । उनले गिरिराजमणि पोखरेललाई रुचाइरहेका छैनन् ।

माओवादीभित्र जनयुद्ध गरेका र नगरेकाहरुबीच ठूलै द्वन्द्व छ । विशेषगरी प्रचण्ड पक्षधर कृष्णबहादुर महरा, जर्नादन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, मातृका यादव जनयुद्धबाट आएका हुन् । नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेललगायत जनयुद्ध नगरी संसदीय राजनीतिबाटै आएका हुन् । जनयुद्धबाट आएकाहरुले नगरेकाहरुले पाएको लाभप्रति प्रश्न उठाउँदै आएका छन् । त्यसमा पनि गिरिराजमणि पोखरेल सबैभन्दा बढी पटक मन्त्री बन्ने माओवादी नेतामा पर्छन् । यसपटक उनीमाथि मधेशका कट्टर माओवादी आक्रामक बने । उनलाई अपराधीकै संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot