Logo

आरआरआरपछि प्रभासको फिल्म राधे श्यामको रिलिज अनिश्चितकालका लागि स्थगित



एजेन्सी, २१ पुस । भारतमा कोभिड–१९ को सङ्क्रमणको बढ्दो गति र तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै धेरै राज्यहरूमा सावधानी अपनाइएको छ । जसका कारण सिनेमा हलहरू बन्द भइरहेका छन् ।

कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै ठ्ूला चलचित्रको रिलिज स्थगित गर्ने प्रक्रिया सुरु भएको छ । अब यस वर्षको बहुप्रतिक्षित चलचित्र राधे श्यामको रिलिज पनि स्थगित भएको छ । राधे श्याम मूल रूपमा तेलुगुमा बनेको फिल्म हो । तर यो तमिल, मलयालम र कन्नड भाषाहरूको साथसाथै सम्पूर्ण भारतमा रिलिज हुँदैछ।

तर, कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि निर्माण पक्षले कुनै जोखिम लिन नचाहेको भन्दै फिल्मलाई तत्कालै रिलिज नगरेर पछि धकेल्ने निर्णय गरेको छ । निर्माता कम्पनी युभी क्रिएशनले बुधबार ट्वीट गर्दै यो जानकारी दिएको हो । तर, नयाँ मिति भने घोषणा गरिएको छैन् ।

निर्माताहरुले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले पछिल्ला केही दिनदेखि सक्दो प्रयास गरिरहेका थियौं, तर पछिल्ला केही दिनमा ओमिक्रोनका केसहरुको बढ्दो गतिलाई हेर्दा हाम्रो प्यारो फिल्मलाई ठूलो पर्दामा ल्याउने समय आएको छ । राधे श्याम प्रेम र भाग्यको कथा हो। हामी विश्वस्त छौं कि तपाईको मायाले हामीलाई यो कठिन समयमा मद्दत गर्नेछ। छिट्टै सिनेमा हलमा भेटौँला ।’

राधे श्यामलाई राधाकृष्ण कुमारले निर्देशन गरेका हुन् । फिल्ममा प्रभास विक्रमादित्यको भूमिकामा छन् भने पूजा हेगडे प्रेरणाको भूमिकामा छिन् । फिल्ममा यी दुईको प्रेमकथा देखाइएको छ । हालै हैदराबादको रामोजी फिल्मसिटीमा एक भव्य कार्यक्रममा राधे श्यामको सबै भाषाका ट्रेलर रिलिज गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot