Logo

साँखुस्थित शालिनदीबाट चाँगुनारायण मन्दिरसम्म पैदल यात्रा (भिडिओसहित)



साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आइतबार भक्तपुरको चाँगुनारायण मन्दिरमा मन्दिरमा पूजा आराधना गरेका छन् । बर्तालु साँखुस्थित शालिनदीबाट पैदल यात्रा गरी चाँगुनारायण मन्दिरमा मन्दिरमा पुगेका थिए ।

पहिलो चरणको तीर्थ यात्राका क्रममा बर्तालुले बज्रयोगिनी, पशुपतिनाथ, शेषनारायणमा विशेष पूजा आराधना गरी पहिलो चरणको तीर्थ यात्रा समापन गरेका थिए । दोस्रो चरणको तीर्थ यात्राका क्रममा उनीहरु पनौतीमा पूजा आराधना गरेका थिए भने तेश्रो चरणको तीर्थ यात्राका क्रममा माघ शुक्ल द्वादशीका दिन आइतबार बिहान चाँगुनारायणमा स्नान एवं पूजा आराधना गरेका हुन् । चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखु शालिनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् । माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा शुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गर्छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot