Logo

स्मार्ट सिटीका लागि २४ अर्ब दिने भनेको सरकारले एक रुपियाँ पनि दिएनः मेयर खाँड



काठमाडौं, २ चैत । वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले स्मार्ट सिटीका लागि सरकारले एक पैसा पनि नदिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर खाँडले भने, “स्मार्ट सिटीको पूर्वाधार, कनेक्टिभी, सुशासन लगायतका कामका लागि २४ अर्ब रुपियाँ आवश्यक पर्छ । वार्षिक १ अर्ब दिएर सुरु गर्ने भनेको सरकारले ५ वर्षमा एक रुपियाँ पनि दिएन । स्मार्ट सिटी बजेटमा आयो, व्यवहारमा आएन ।”

उनले स्मार्ट सिटीका लागि ५ वर्षमा डेढ अर्ब पनि विकास खर्च गर्न नसकेको बताए । खाँडले थपे, “स्मार्ट सिटीको बजेट रोकिएकाले सडक ग्राभेल र पिच सडक गर्ने योजनाअनुसार अघि बढाउन सकेनौं । स्मार्ट सिटी बन्ने हाम्रो दीर्घकालीन लक्ष्य हो । तैपनि नगरपालिकाको अत्यन्त सीमित स्रोत, साधन प्रयोग गरेर पूर्वाधार, सिँचाइ, खानेपानीका योजना सम्पन्न गरेको छ ।”
तपाईं कसरी उत्कृष्ट मेयर बन्न सफल हुनुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा मेयर खाँडले भने, “नेपाल नगरपालिका संघले १०६ वटा इन्डिकेटरका आधारमा उत्कृष्ट काम गर्ने पालिका र मेयरको छनोट गर्दछ । हामी धेरै राम्रोभन्दा पनि योजनाबद्ध रुपमा अगाडि बढेका छौं । संस्थागत रुपमा काम गरेका छौं । आर्थिक पारदर्शिता र विधिको शासन कायम गरेका छौं । कुनै पनि योजनाबारे सार्वजनिक सुनुवाइ गरेका छौं । दुई सय वटा टोलमा २० वर्षे योजना सुरु गरेका छौं । जनचाहना असीमित छन् । त्यो पूरा हुन समय लाग्छ ।”
उनले भ्रष्टाचारलाई ठाउँका ठाउँ कारबाही गर्ने पनि बताए । उनले थपे, “गुनासो आएमा तत्काल ठाउँको ठाउँ कारबाही गर्छौं । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायत दलका प्रतिनिधि रहेको सात सदस्यीय गुनासो समिति बनाएका छौं । अहिलेसम्म कर्मचारी र जनप्रतिनिधिसँगका कुनै पनि उजुरी आएका छैनन् । भ्रष्टाचारमा शून्य सहनशीलता राखेका छौं । सेवा लिँदा र काम गर्दा कसैले पैसा मागे तुरुन्त खबर गर्न भनेका छौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot