Logo

भारतलाई गाली गर्नकै लागि पनि यहाँ पार्टी खुलेका छन्, भारतलाई गाली नगरे खाएको पच्दैन, निद्रा लाग्दैनः लक्ष्मणलाल कर्ण



काठमाडौं, १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता लक्ष्मणलाल कर्णले नेपालमा भारतलाई गाली गर्नका लागि पनि पार्टी खुलेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “भारत नेपालको निकटतम छिमेकी मुलुक हो । ऊसँग नेपालको विशेष सम्बन्ध रहनुपर्छ । दुई देशबीच खुला सीमा छ, रोटीबेटीको सम्बन्ध छ, धार्मिक र सांस्कृतिक सम्बन्ध पनि जोडिएको छ । छिमेकी भएको नाताले दुई देशबीच समस्या छँदै छैन भन्ने छैन । तर नेपालमा समस्या क्रियट गर्ने दल पनि छन् । भारतलाई गाली गरेनन् भने खाएको पच्दैन, निद्रा लाग्दैन । भारतलाई गाली गर्न नै पार्टी खडा गरिरहेका छन् । मैले होस सम्हालेदेखि नै सुस्ता खायो, सुस्ता खायो भनेको भन्यै छन् ।”
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा उठाउनुपर्ने धेरै कुरा भएको पनि उनले औंल्याए । कर्णले भने, “लिपुलेक, कालापानी, लिम्पियाधुरालगायत सीमा समस्याका कुरा पनि छन् । व्यापार घाटा न्यूनीकरण गर्ने कुरा होला । नेपाल अल्पविकसित देश भएकाले विकासमा भारतीय सहयोगको निकै आवश्यकता छ । हामीले सदैव भारतको सहयोग पाएका छौं । तर सदैव प्राप्त होस् भन्ने चाहन्छौं ।”
भारतसँगको सीमा समस्या चर्के पनि चीनसँगको सीमा विवाद त्यत्तिकै सामसुम हुने गरेको आरोप पनि लोसपा नेता कर्णले लगाए । उनले थपे, “भारतसँग जति सीमा विवाद छ, चीनसँग पनि त्यति नै विवाद छ । जुन आँखाले देख्छ, त्यसमा धेरै हल्ला छ । उत्तरको बोर्डमा त कोही मानिस नै पुग्न सक्दैनन् । चाइनिज मिलिटरीले सिभिल डे«समा दुःख दिएको कुरा छ । भारतजस्तै चीन पनि हाम्रो छिमेकी हो । त्यस्ता समस्या वार्तामार्फत समाधान गर्नुपर्छ ।”
लोसपा सरकारमा जान लागेको बारे आफूलाई थाहा नभएको पनि उनले बताए । उनले भने, “लोसपा सरकारमा जान लागेको बारेमा मलाई थाहा छैन । मसँग कुनै कुरा भएको पनि छैन । मैले सरकारमा जाँदै नजाने भनेको होइन, तर अहिले सरकारमा जानेबारे औपचारिक कुरा भएको छैन ।’
लोसपा नेता कर्णले आफ्नो पार्टीको कसैसँग झगडा नभएकाले जुनसुकैसँग तालमेल हुन सक्ने पनि बताए । उनले थपे, “अहिले हामीले एक्लै कसरी विजय प्राप्त गर्ने भनेर चुनावको तयारी गरेका छौं । तर हाम्रो कुनै दलसँग झगडा नभएकाले तालमेल हुने सम्भावना त्यत्तिकै छ । लोकल मुद्दा, आवश्यकता र व्यक्तित्वका आधारमा तालमेल हुन्छ ।”
जसपा अध्यक्ष उपेन्द्र यादवले त लोसपाले एक सिट पनि जित्दैन भन्नुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा कर्णले भने, “मेरो नजरमा लोसपा साह्रैै बलियो पार्टी छ । म पनि १०-११ दिन मधेसमा बसेर आएँ । यो देशमा लोसपा एक सिट जित्दैन भन्ने कति ज्योतिषको जन्म हुन्छ, हेर्दै जाऊँ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot