Logo

अमेरिकाबाट फर्किएलगत्तै सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, प्रचण्ड सरकार ढल्नेमा देउवा ढुक्क



काठमाडौं, २३ बैशाख । उपेन्द्र यादव सरकारबाट बाहिरिने निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका यादव यतिवेला अमेरिकामा छन् । तर, उनी अमेरिकाबाट फर्किएलगत्तै सरकारबाट बाहिरिने निश्कर्षमा पुगेको उच्च स्रोतको दाबी छ ।

सरकारमा सहभागी हुने बेलामा आफूलाई वरियताक्रम दिने बेलामा नै अपमान गरिएको भन्दै यादव प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट बनेका थिए । अहिले सत्ता गठबन्धनमा रहेको मुख्य घटक नेकपा (एकीकृत समाजवादी) पनि गठबन्धनबाट बाहिरिने तयारीमा लागेपछि यादवले त्योभन्दा पहिले नै सरकारबाट बाहिरिएर नयाँ गठबन्धन बनाउनको लागि बलियो आधार प्रस्तुत गर्न लागेका छन् ।

अमेरिका उड्नुअघि यादवले एमाले–माओवादी गठबन्धन तोड्नको लागि कम्मर कसेर लागेका कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ता गरेका थिए । सो भेटवार्तामा यादवले माधव नेपालले निर्णय लिए आफू तयार रहेको भन्ने जवाफ दिएका थिए । यादव अमेरिका उडेपछि देउवाले माधव नेपालसँग पटक पटक भेटवार्ता गरेका छन् । नेपाल सरकारबाट बाहिरिएर नयाँ गठबन्धन बनाउन राजी भएका छन् । file photo

सत्ता गठबन्धनमा माधव नेपाल र एमाले अध्यक्ष केपी ओलीबीच खटपटक सुरु भएको कुरा उनीहरुले एकअर्काविरुद्ध लगाउने आरोपले पनि पुष्टि गरेको छ । यादव मंगलबार काठमाडौं ओर्लिने जनाईएको छ । बुधबार नै निर्णायक कदम चाल्ने उनको तयारी छ । यद्धपी उनको दलभित्र भने गठबन्धन तोड्ने वा कायम राख्ने भन्ने विषयमा मतभिन्नता छ । अधिकांश सांसदहरु यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । उस्तै परे पार्टी विभाजन गर्नसमेत पछि नपर्ने उनीहरुको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot