Logo

नेपाल मेडिकल कलेजमा कार्डियो, ग्याष्ट्रो र इण्डोक्रोनोलोजीका छुट्टाछुट्टै युनिट



काठमाडौं, चैत २५ । नेपाल मेडिकल कलेजमा मेडिसिन विभाग अन्तरगत तीन युनिट सञ्चालनमा आएको छ । कलेजले कार्डियोलोजी, ग्याष्ट्रोलोजी तथा इण्डोक्रोनोलोजी युनिट तयार गरी सञ्चालनमा ल्याएको हो । विगतमा यी तीनै युनिट मेडिसिन विभाग अन्तरगत पर्दथे ।

विरामीलाई सहज उपचारको व्यवस्थापन गर्न छुट्टाछुट्टै युनिट तयार पारेर उपचार सेवा थालिएको अस्पताल प्रशासनले जनाएको छ । तीनै युनिटको औपचारिक रुपमा सुरुवात गर्दै कलेजका म्यानेजिङ डाइरेक्टर बसुरुद्धिन अन्सारीले नेपाल मेडिकल कलेजलाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न विभिन्न रोगसँग सम्बन्धीत युनिटहरु बनाइएको बताए । ‘यहाँको स्वास्थ्य सेवालाई समयसापेक्ष सुधार गर्दै विशेषज्ञ सेवाहरु थप गर्न हरेक वार्डहरुमा छुट्टाछुट्टै युनिट बनाउने योजना छ । अहिले कार्डियोलोजी, ग्योष्ट्रोलोजी र इण्डोक्रोनोलोजी युनिट तयार गरिएको हो ।’ अन्सारीले भने ।

उल्लेखित हरेक युनिटमा १२र१२ वेड रहेका छन् । युनिटमा विशेषज्ञ डाक्टर तथा नर्सको व्यवस्थापन गरिएको कलेजका अस्पताल प्रमुख दिलिप साहले बताए । उनका अनुसार यसअघि अस्पतालमा विशेषज्ञ युनिट रहेको थिएन । कार्डियोलोजीलाई व्यवस्थित र विरामीमैत्री बनाइएको छ । युनिटमा इको, इसिजी, हल्टर तथा एविपी सेवाहरु व्यवस्थापन गरिएको छ । भविष्यमा क्याथल्याव सेवा समेत सूचारु गरेर नेपाल मेडिकल कलेजलाई विशेषज्ञ स्वास्थ्य संस्थाका रुपमा सञ्चालन गर्ने योजना बनाइएको छ ।

कलेजका अस्पताल निर्देशक प्रा।डा। मोदनाथ मरहठ्ठाका अनुसार कार्डियोलोजी विभागमा बंगलादेशबाट एमडी गरेर आएकी डा। सञ्जीता अन्सारी तथा डा। सिर्जना प्रधानाङ्ग लगायत विशेषज्ञ डाक्टरहरुको व्यवस्थापन गरिएको छ ।

यसैगरी ग्याष्ट्रोलोजीमा डा सुनिल मरिक, डा अवसेस भण्डारी लगायतको टीम रहेको छ । इण्डोक्रोनोलोजीमा डा प्रविण अधिकारी लगायतको टीम रहेको अस्पताल निर्देशक मरहठ्ठाले जानकारी दिए । डा मरहठ्ठा त्रिवि शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर हुन् ।

एक सय वेडको डायलाइसिस सेवा सञ्चालनमा आउने

नेपाल मेडिकल कलेजलाई मृगौला रोगीको लागि एक सय वेडको डायलाइसिस सेवा चाँडै सञ्चालनमा आउने भएको छ । कलेजका म्यानेजिङ डाइरेक्टर अन्सारीका अनुसार अहिले भइरहेको ५० वेडको डायलाइसिस सेवालाई स्तरोन्नती गर्दै थप ५० वेड बनाइँदैछ । एक सय वेड तयार भएपछि दैनिक तीन सयको डायलाइसिस गर्न सकिने छ । ‘अहिले राजधानीमा मात्र हैन देशैभर मृगौला रोगीहरुको उपचारमा डायलाइसिस सेवा नगन्य छ । हामीले दैनिक तीन सय मृगौला रोगीको डायलाइसिस गर्ने गरी पूर्वाधार बनाउँदैछौं ।’ अन्सारीले भने ।

नेपाल मेडिकल कलेजमा नेशनल मेडिकल कलेज विरगञ्जका सञ्चालक अन्सारीको प्रवेश सँगै स्वास्थ्य सेवामा सुधार गरिएको छ । कुनैबेला इमरजेन्सीमा आउने सामान्य विरामीलाई समेत राजधानीका अन्य अस्पतालहरुमा रेफर गर्ने अवस्थामा पुगेको थियो । अहिले विशेषज्ञ तथा दक्ष चिकित्सकीय जनशक्ति थप गरिएकोले अन्य अस्पतालबाट विरामीहरु रेफर भएर आउन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot