Logo

कुञ्चा सर्न थाले व्याँसका स्थानीयवासी



दार्चुला, १६ वैशाख । व्याँस गाउँपालिका–१ छांगरुका स्थानीयवासी कुञ्चा सर्न थालेका छन् ।

भारतीय सरकारले छांगरु जान अनुमति दिएसँगै यहाँका स्थानीयवासी बुधबार कुञ्चा अर्थात् बसाइँ सरेका हुन् । छांगरुका स्थानीयवासीले बसाइँ सुरु गरेका छन्, तिंकरका स्थानीयवासी एक–दुई दिनभित्रै सर्ने तयारीमा रहेको व्याँस गाउँपालिका–१ का वडासचिव विनोद तिंकरीले बताए ।

छांगरुपछि तिंकरको बसाइँ सुरु हुनेछ । यहाँका नागरिक छ महिना व्याँस गाउँपालिका–१ को छांगरु तिंकर तथा छ महिना सदरमुकाम खलङ्गा बसाइँ सर्ने गर्छन् । गत कात्तिक मङ्सिरमा खलङ्गा झरेका व्याँसीहरू यसपटक जेठ दोस्रो सातापछि कुञ्चा सर्न थालेका हुन् । भारतले अनुमतिपत्र जारी गर्न ढिलाइ गरेका कारण केही ढिलाइ भएको सचिव बुढाथोकीको भनाइ छ ।

सदरमुकाम खलङ्गामा चुनावी माहोल सुरु भए पनि छांगरु तिंकरका स्थानीयवासी बसाइँ सर्न थालेका कारण गाउँ भने सुनसान छ । जल्लाभरि नैै चुनावी माहोल तातेको बेला यी दुई गाउँका नागरिक भने बसाइँसराइमा व्यस्त छन् । तिंकर र छाङरुका सौका समुदायका बासिन्दा हिउँदका छ महिना पशुचौपाया लिएर खलङ्गा आएका थिए । अहिले उनीहरु भारतीय बाटो हुँदै गाउँ सर्न थालेका छन् । अहिले तिंकर र छाङरुवासीका घरमा ताल्चा लागेका छन् । अब उनीहरु छांगरु र तिंकरतर्फ गएपछि मात्रै गाउँका ताला खुल्ने छ ।

अहिले ७०० बढीको अनुमति जारी भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताए । स्थानीय तह निर्वाचनका लागि व्याँस गाउँपालिका–१ मा दुई निर्वाचन केन्द्र तोकिएका छन् । निर्वाचन कार्यालय दार्चुलाका अनुसार तिंकरको मोती महिला सङ्घ आधारभूत विद्यालय केन्द्रमा २३१ र छांगरुको कैलाशवती आधारभूत विद्यालय मतदान केन्द्रमा ३७५ मतदाता छन् । छांगरु र तिंकरमा हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिन्छ । गाउँपालिका केन्द्रमा मतगणना हुन्छ, सहायक प्रमुख जिल्ला अधिकारी साउदले भने ।

एक हजारभन्दा बढी कर्मचारी खटिए

स्थानीय तह निर्वाचनका लागि दार्चुलामा एक हजार बढी कर्मचारी प्रत्यक्षरूपमा खटिने भएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाभरि एक हजार ८१ कर्मचारी खटिने भएका हुन् । नौ स्थानीय तहका ११० मतदानस्थल र १३९ मतदान केन्द्रमा कर्मचारी खटिने छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदीपसिंह धामीका अनुसार जिल्लाभरि १३९ निर्वाचन अधिकृत, १३९ सहायक निर्वाचन अधिकृत, २४७ सहायक कर्मचारी, १३९ सहयोगी निर्वाचनमा खटिनेछन् । यस्तै सबै केन्द्रमा ४१७ स्वयंसेवक खटिने छन् ।

“निर्वाचनमा खटिने कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ, कुन क्षेत्रबाट कहाँ–कहाँ कर्मचारी खटाउने मुख्य निर्वाचन अधिकृतको अधिकार हो”, जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले भने । यसपटक सबैभन्दा बढी मतदान केन्द्र गोरीलमाण्डौँ हिकिलामा छ । यहाँ तीनवटा मतदान केन्द्र छन् । जिल्लामा एक मतदानस्थल रहेको मतदान केन्द्र ८२, दुईभन्दा बढी मतदानस्थल रहेका मतदान केन्द्र २७ रहेका छन् । निर्वाचन कार्यालयले आवश्यक सबै प्रक्रिया पु¥याएको छ । अहिले दिनहुँ निर्वाचनको काम चलिरहेको उनले बताए ।

दार्चुलामा निर्वाचन सामग्री गाउँ पठाउने तयारी गरिँदै

स्थानीय तह निर्वाचनका लागि दार्चुलामा निर्वाचन सामग्री गाउँ पठाउने तयारी गरिँदै छ । निर्वाचनका लागि चाहिने आवश्यक सामग्री जिल्ला आइपुगेका कारण समान जाँच गरी प्याकिङको काम भइरहेको छ । वैशाख २७ गतेभित्र सबै स्थानीय तहका मतदान केन्द्रमा आवश्यक सामग्री पु¥याइ सकिने जिल्ला निर्वाचन अधिकारी धामीको भनाइ छ ।

मतपेटिकासहित आवश्यक निर्वाचन सामग्री खलङङ्गा ल्याइएको छ । अहिले रुजु गरेर गाउँ पठाउन प्याकिङको काम चलिरहेको छ । जिल्लाका लागि यस पटक १०० नयाँ मतपेटिका ल्याइएको छ । यसअघि जिल्लामा ५०० बढी मतपेटिका सुरक्षित रहेको उनको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपेटिकासहित ५८ प्रकारका निर्वाचन सामग्री जिल्लामा ल्याइएको हो । मतपत्र र मतदाता परिचयपत्रबाहेक सबै सामग्री आइसकेको कार्यालय प्रमुख जयप्रसाद धामीको भनाइ छ । मतपेटिकासहित छेकवार, स्वस्तिक छाप, मसीदानी, मतदाता नामावलीको सूचीलगायत सामग्री छन् । रुजु गरेपछि सबै गाउँ पठाइन्छ । जिल्लाका नौ स्थानीय तहमा ११० मतदानस्थल र १३९ मतदान केन्द्र छन् । मतदाता सङ्ख्या ८८ हजार २८५ रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot