Logo

तीन करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर



काठमाडौं, बैशाख २६ । युरोपका विभिन्न मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक कन्सल्टेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले ठगी गरेको आरोपमा जेन्युन एजुकेसन एन्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व न्यायाधीकरण मुद्दा दायर गरेको हो । विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेखबहादुर गुरुङ र सुनील लम्साललाई पनि ठगी मुद्दामा विपक्षी बनाएको छ ।

ठगीका आरोपी भट्टराई, गुरुङ र लम्साललाई विभागमा खटिएको नेपाल प्रहरी नायब उपरीक्षक नेतृत्वको टोलीले गत चैत २८ गते पक्राउ गरेको थियो ।विभागले दिएको जानकारीअनुसार ठगीका आरोपीले पोर्चुगल, स्पेन र फ्रान्ससहितका मुलुकमा वैदेशिक रोजगारीमा लैजाने भन्दै प्रतिव्यक्ति १७ लाख ९२ हजार रुपियाँसम्म ठगी गरेकोपाइएको छ ।

युरोपको प्रलोभनमा पारेर २२ जनाबाट असुली गरेको दुई करोड ८८ लाख ४१ हजार सात सय र त्यसको ५० प्रतिशत जरिवानासहित चार करोड २३ लाख ५० रुपियाँ बिगो कायम गरिएको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot