Logo

मुग्लिन–आँबुखैरेनी सडकखण्डमा एकतर्फी साना सवारी चल्न थाले



काठमाडौं, २७ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी साधन चलेका छन् । सडक विभागले भित्तातर्फको भाग काटेर बाटो बढाएसँगै साना सवारी चलेका हुन् ।

मुग्लिन–आँबुखैरेनी सडक खण्डमा चार दिन पछि मात्रै ठूला सवारी चल्ने भएका छन् । सडक भासिएको ठाउँमा कडा चट्टान भएकाले भित्तातर्फको भाग काट्न ४ दिन समय लाग्ने जनाइएको छ । अब चारदिन सम्म ठूला यात्रुबाहक र मालबहाक सवारी आवातजावत गर्न पाउने छैनन् ।

भासिएको सडकबाट बा १० च ४६४९ नम्बरको कार पहिरोमा खसेको थियो । कारमा कति जना सवार थिए भन्ने त्यसको आधिकारीक विवरण भने अहिलेसम्म आएको छैन् ।

उक्त कारमा सवार दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकमध्ये एक व्यक्तिको पहिचान खुलेपनि अर्का व्यक्तिको भने पहिचान खुल्न सकेको छैन् । गोरखाको सिरानचोक गाउँपालिका स्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको थियो । पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन्।



प्रतिक्रिया दिनुहोस्