Logo

बोलीले निरन्तर चिप्लदै ओली



काठमाडौं, ३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ असारमा नेपाल चीन हिमालय मैत्री समाजको कार्यक्रममा पृथ्वीनारायण शाहको दिव्योपदेश २७ पौष २०२५ मा ल्याइएको दाबी गरे । ओलीले यसो बोलिरहँदा तालीको गडगडाहट सुनियो हलमा । ओलीभन्दा अगाडि बोलेका काँग्रेस नेता चन्द्र भण्डारीले पृथ्वीनारायण शाहको प्रशंशा गरेपछि ओलीले दिव्योपदेश नै राजा महेन्द्रले ल्याएको जसरी मिति नै तोकिदिए ।
ओलीको अभिव्यक्ति विवादमा पर्यो । २००९ सालमै दिव्योपदेश प्रकाशित भइसकेको प्रमाण सार्वजनिक भयो । इतिहासमा पृथ्वीनारायण शाह राजा मात्र नभई गोरखनाथको मठको उत्कृष्ट विद्यार्थीमध्येका हुन् भन्ने भेटिएको छ । उनका गुरु थिए गोरखनाथ मठका भगवन्तनाथ ।

रामायणमा उल्लेख भएका भगवान राम नेपालमा जन्मिएका र अयोध्या नेपालको हालको चितवन जिल्लाको अयोध्यापुरी हो भन्ने अभिव्यक्ति पनि ओलीले नै दिदै आएका छन् । उनले अयोध्यापुरीमा राम मन्दिर निर्माण देखि पुरातत्वविदहरु खटाउन लगाए । आफू प्रधानमन्त्री हुँदा मन्त्रीहरुलाई समेत अयोध्यापुरीमा दौडाए । कम्युनिस्ट नेता ओली राम र अयोध्याको चर्चा गर्न थाले ।

ओलीले भगवान रामको कुरा त गरे तर ३२ असारको नेपाल चीन हिमालय मैत्री समाजको कार्यक्रममा आफू नास्तिक भएको खुलस्त पारे । उनले आफ्ना लागि नेपाली जनता नै भगवान भएको बताए । यसअघि ओलीले पशुपतिनाथको दर्शन गरेर ढोकामा तस्बिर खिचाएर सार्वजनिक गरेको पनि चर्चामा थियो । उनले प्रधानमन्त्रीका रुपमा शपथ लिंदा ईश्वरका नाममा लिन मानेनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ईश्वर उचारण गर्दा त्यो पर्दैन भनेको सुनियो । यो बोली भाइरल भएको थियो ।

ओलीले योगको प्रार्दुभाव देखि कतिपय ऋषिमुनीहरुको जन्म नै नेपालमा भएको बताउने गरेका छन् । यसबारे उनले कहिले पनि ठोस तथ्य प्रस्तुत गर्न सकेका छैनन् ।

भानुभक्तले कविता लेखेकोमा समेत प्रश्न गरे ओलीले । आदिकवि भानुभक्त आचार्य नेपाली भाषाका कविका रुपमा नेपालभित्र मात्र नभई बाहिर पनि चिनिन्छन् । तर, उनै भानुभक्तबारे ओलीले विवादास्पद बोली बोले ।

२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा गरेको सम्बोधनको ड्राफ्ट बल्खुस्थित पार्टी कार्यालय निरको रुद्राक्षको बोटमुनी बसेर आफूले तयार गरेको बोली पनि ओलीबाटै आयो । उनको यो बोली पनि विवादमा पर्यो ।

भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्यामा उनी बोले । चुच्चे नक्शा जारी गराए । तर, उनी प्रधानमन्त्री हुँदा नै चुच्चे नक्शा पाठ्यपुस्तकमा समावेश गर्नबाट रोक लगाइयो । तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदमा उभिएर किन पाठ्यपुस्तकमा समावेश गर्न रोक लगाएको भनी प्रश्न गरे । चुच्चे नक्शा त बन्यो पाठ्यपुस्तकमा समेत समावेश गर्नबाट ओलीले प्रधानमन्त्री हुँदा नै रोक लगाएर सशंय जन्माउने भूमिका निभाए ।

दुईपटक प्रधानमन्त्री भइसकेका ओलीले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहबारे दिएको अभिव्यक्तिलाई गम्भीर मानिएको छ । कुनैबेला चन्द्रागिरीमा पृथ्वीनारायण शाहको शालिक राख्न चन्द्र ढकाललाई भनेका ओली आफै उनको अपमान हुने अभिव्यक्ति दिन थालेका छन् ।

कुनैपनि विषयमा ज्ञान राख्न खोज्ने तर गहिरो ज्ञान नहुँदा चिप्लिने स्वभाव ओलीमा देखिन्छ । उनी नास्तिक हुन् तर धर्मको जोडतोडले कुरा उठाउँछ । उनी कम्युनिस्ट हुन् तर गैरकम्युनिस्टले जसरी अभिव्यक्तिहरु दिइरहेका छन् । तर, उनी नास्तिक हुन् र कम्युनिस्ट हुन् । धर्म र गैरकम्युनिस्टका जस्ता अभिव्यक्ति दिनु उनको रणनीतिक चार्तुयता नै हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot