Logo

गठबन्धनमा कसरी सिट बाँडफाँड गर्ने भनेर कांग्रेस शीर्ष नेताहरुसँग छलफलमा देउवा



काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्र आगामी निर्वाचनको लागि सिट बाँडफाँड कसरी गर्ने भन्नेबारे छलफलमा जुटेका छन् । उनले पार्टीका शीर्ष नेताहरुलाई अहिले बालुवाटारमा बोलाएर छलफल थालेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने यसअघि नै निर्णय भैसकेको छ । अब सिट संख्या कसरी बाँडफाँड गर्ने भन्नेबारे कांग्रेस नेतृत्वले पार्टीभित्र छलफल थालेको छ । पछिल्लो समय कांग्रेसमा चुनावमा गठबन्धन गर्नेबारे शीर्ष नेताहरुमा पनि कुनै विवाद छैन् ।

कांग्रेसले आगामी निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बनाउनेगरि गृहकार्य थालेको छ । पाँच दलीय गठबन्धन कायमै राख्ने देउवाको रणनीति सफल हुँदै गएको छ । देउवा कुनैपनि हालतमा गठबन्धनलाई बचाएर नै निर्वाचनमा जान चाहन्थे ।

गठबन्धनले निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारे कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलको आज बैठक बस्दैछ । त्यसअघि नै कांग्रेस शीर्ष नेताहरु भने आन्तरिक छलफलमा जुटेका छन् ।

प्रत्यक्षतर्फ १६५ सिटमध्ये कांग्रेसले एक्लै १०० सिटमा दाबी गरिरहेको छ । तर, गठबन्धनमा आवद्ध दलका नेताहरुले आधा आधा गरेर जानुपर्ने प्रस्ताव अघि सारेका छन् । कांग्रेसबाहेक दलहरुले छुट्टै मोर्चासमेत बनाउनेगरि गृहकार्य थालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot