Logo

प्रचण्ड र माधव नेपालले कांग्रेससँग ‘बार्गेनिङ’का लागि एमालेको तुरुप फ्याँकिरहेका छन्, त्यो सम्भव छैनः आनन्द पोखरेल



काठमाडौं, २४ साउन । नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले आफ्नो पार्टीका तर्फबाट केपी शर्मा ओली निर्विकल्प प्रधानमन्त्री भएको बताएका छन् ।
“हाम्रो पार्टीले आफ्नै कार्यकर्तासँग तालमेल गर्छ, गठबन्धन गर्छ । सिद्धान्त, नीति र विचार नमिल्ने उग्र वामपन्थी र उग्र दक्षिणपन्थीहरुसँग आमनेसामने एक्लै लड्द । नेकपा एमाले राजनेता केपी ओलीकै नेतृत्वमा चुनावमा जान्छ र भावी प्रधानमन्त्री पनि उहाँ नै हो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने ।
नेता पोखरेलले पार्टीले असोज १५ सम्म सबै उम्मेदवारी टुंग्याउने पनि जानकारी दिए । साथै उनले पार्टीले आवश्यक ठाने दोलखाबाट चुनाव लड्न आफू तयार भएको पनि बताए ।
स्थानीय स्तरमा कहीं कतै तालमेल भए पनि घोषित रुपमा गठबन्धन नहुने पनि एमाले नेता पोखरेलको दाबी छ । उनले थपे, “अहिलेसम्मको स्थितिमा हामी एकल गठबन्धनमा चुनाव गर्दैछौं । कसैसँग तालमेलका लागि एमालेले ढोका बन्द गरेको छैन, तर पार्टीले आफ्नो आदर्श दाउमा पनि राख्दैन । प्रचण्ड र माधव नेपालले कांग्रेससँग बार्गेनिङका लागि वाम तालमेल वा एमालेको तुरुप र कार्ड फ्याँकिरहेका छन् । त्यो दाउपेच र अनैतिक व्यापार सम्भव छैन ।” लोकतान्त्रिक समाजवादी पार्टी पनि एमालेसँगको गठबन्धन रहने सम्भावना नरहेको उनले बताए ।
परराष्ट्र मन्त्री खड्काको चीन भ्रमणलाई सकारात्मक रुपमा लिएको बताउँदै पोखरेलले भ्रमण सफल हुने विश्वास व्यक्त गरे । साथै उनले बीआरआई मुलुकको हितका निम्ति लिन सकिने औंल्याए । पोखरेलले थपे, “बीआरआई ग्लोबल प्रोजेक्ट हो । नेपालले यसको पक्ष राष्ट्र भएर हस्ताक्षर गरेपछि चाहिन्छ वा चाहिँदैन भन्नु उपयुक्त हुँदैन । कि कुनै देशसँग पनि ऋण लिनुहुँदैन कि कुनैबाट ऋण लिने, कुनै नलिने गर्नुहुँदैन । नेपालको हितमा असर नपर्ने गरी ऋण वा अनुदान लिन सकिन्छ ।”



प्रतिक्रिया दिनुहोस्