Logo

जोखिमपूर्ण यात्रा गर्न बाध्य



काठमाडौँ,२९ साउन । मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासिएको थियो । यो सडक भएर पाँचपोखरी थाङ्पाल गाउँपाकिाका आठवटै वडा र मेलम्चीका नौ र १० वडाका स्थानीय आवतजावत गर्ने गरेका छन् । यी स्थानीय र यस भेगको यातायातका लागि यो नै एकमात्र सडक हो । यो सडक तलबाट भासिएर पहिरो खसेको छ तर माथिबाट सवारीसाधन तथा मानिस यात्रा गर्ने गर्दछन् ।

सडक जीर्ण हुँदासमेत जोखिम लिएर जसोतसो यातायातका साधन गुडिरहेका छन् । यहाँका स्थानीयले अर्को विकल्प नभएकाले यात्रा गर्ने गरे पनि कतिबेला अप्रिय घटना हुन्छ भन्ने त्रास रहेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका स्थानीय सुन्दर सापकोटाले बताए ।

केही दिन अगाडि मात्रै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, इञ्जिनीयर लगायतको टोलीले अवलोकन गरी तत्काल सडक मर्मत गर्ने बताएका थिए । सडक मर्मतको काम भने अझै सुरु हुन सकेको छैन ।

पाँच पोखरी थाङ्पाल गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले मेलम्ची नगरपालिकालाई छिटोभन्दा छिटो सडक मर्मत गरी व्यवस्थित बनाउन आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष टाँसी लामाले पटकपटक नगरपालिकालाई आग्रह गरेको तर काम नभएको गुनासो गरे । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उक्त सडक मर्मतका लागि बजेट विनियोजन भइसकेको भन्दै अब काम सुरु हुने बताए । उनले जोखिममा रहेको सो सडक माथि काट्ने ठाउँ नभएकाले तलबाट पर्खाल उठाएर सडक बग्नबाट रोक्नुपर्ने भएकाले ढिला भएको बताए । रासस



प्रतिक्रिया दिनुहोस्