Logo

पेचिलो बन्दै बागलुङमा चुनावी तालमेल



गण्डकी, ३० भदौ । सिट बाँडफाँटमा बागलुङ–१ नछाड्ने राष्ट्रिय जनमोर्चाको अडानले जिल्ला तहमा गठबन्धन कसरी अघि बढ्ला भन्ने चासो थपिदिएको छ । गठबन्धनको सबैभन्दा सानो दल जनमोर्चाले त्यहाँको उम्मेदवारमा अध्यक्ष चित्रबहादुर केसीलाई अघि सारेको छ । बागलुङ केसीको गृहजिल्ला हो । सङ्घतर्फ बागलुङ–१ सँगै प्यूठानमा जनमोर्चाको दाबी छ ।

प्रदेशमा पनि बागलुङको एउटा सिट आफूले पाउनुपर्ने उसको प्रस्ताव छ । विसं २०७४ को चुनावमा वाम गठबन्धन गरेर चुनाव लडेको जनमोर्चाले बागलुङबाट प्रदेशका दुई सिट जितेको थियो ।

तत्कालीन चुनावमा बागलुङका सबै सिट गुमाएको सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस अहिले विरासत फर्काउने सुरमा छ । दोस्रो संविधानसभा चुनावमा जिल्लाका तीनै सिट जितेको काँग्रेसले विसं २०७४ को चुनावमा नमिठो हार व्यहोर्नुपरेको थियो ।

वाम तालमेलबाट गत चुनावमा बागलुङ–२ र बागलुङ–२ (क) मा विजयी बनेको नेकपा (माओवादी केन्द्र) अहिलेपनि गठबन्धनमार्फत त्यही नतिजा दोहोराउन चाहन्छ । गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी)ले पनि प्रदेशको एउटा सिटमा दाबी गरिरहेको छ ।

एकातिर सङ्घीय मन्त्रीदेखि गठबन्धन दलका शीर्ष नेतासम्म उम्मेदवार बन्ने दौडमा हुनु, अर्कातर्फ दलका आ–आफ्नै अडानका कारण बागलुङ गठबन्धनका लागि पेचिलो बन्ने देखिएको छ ।

जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बरालले आफूहरुले सङ्घसँगै प्रदेशको एउटा सिट पनि बागलुङबाटै पाउनुपर्ने बताए । “बागलुङ–१ मा अध्यक्षलाई उठाउने पार्टी केन्द्रकै निर्णय हो, प्रदेशमा पनि बागलुङबाट एउटा सिट अनिवार्य चाहिन्छ, हाम्रो यही अडान छ”, उनले भने ।

जनमोर्चाको बढी जनाधार भएको जिल्ला बागलुङ हो । गत वैशाखमा भएको स्थानीय तह चुनावमा अहिलेकै गठबन्धनमार्फत उसले दुईटा पालिका जितेको थियो । ति पालिका बागलुङ–१ मा पर्छन् जहाँबाट अहिले जनमोर्चाका अध्यक्ष केसी चुनाव लड्न चाहिरहेका छन् ।

जनाधार, शक्ति सन्तुलन, विगत चुनावको परिणाम आदिलाई हेरेर बागलुङ–१ मा दाबी गरिएको जनमोर्चाले जनाएको छ । विसं २०७४ को चुनावमा बागलुङ–१ (ख) र २ को (ख) मा जनमोर्चा विजयी बनेको थियो । प्रदेशतर्फ बागलुङ–२ (ख) मा अहिलेपनि उसको दाबी कायम छ ।

स्थानीय तह चुनावमा गठबन्धनको सफल नेतृत्व गरेको काँग्रेस आसन्न सङ्घ र प्रदेशको चुनाव जितेर विगतको हारलाई बिर्साउने दाउमा छ । गत वैशाखमा भएको चुनावमा जिल्लाका दसमध्ये ६ वटा पालिका जितेको काँग्रेसले यो चुनावबाट पनि उस्तै नतिजा ल्याउन चाहान्छ ।

काँग्रेसका जिल्ला सचिव हरिहर शर्माले गठबन्धनभित्र काँग्रेस र अरु दलमा ६०/४० को आधारमा सिट बाँडफाँट गरिनुपर्ने बताए । गत स्थानीय तह चुनावमा पनि सोही आधारमा गठबन्धन गरिएको उनले सुनाए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot