Logo

दोस्रो मलिथम फुटबल च्याम्पियनशिपको उपाधी कालिका एफ सी चौदण्डीगढी-५ लाई



गाईघाट, २१ असोज । दोस्रो मलिथम फुटबल च्याम्पियनशिप कप–२०२२ को उपाधी कालिका फुटबल क्लब चौदण्डीगढी ५- ले उचालेको छ । बिहीबार उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित ज्यामिरेको थानपोखरी खेल मैदानमा सम्पन्न फाईनल खेलमा कालिका एफ सी ले रातापानी एफ सी लाई २–१ को गोल अन्तरले पछि पार्दै उपाधी हात पारेको हो ।

खेल सुरु भएको ७ औं मिनेटमा कालिका एफ सीको तर्फबाट भगबती चौधरीले पहिलो गोल गरेका थिए भने खेलको ४१ औं मिनेटमा सोही समुहबाट लभसागर चौधरीले दोस्रो गोल गरेका थिए । रातापानी एफ सी को तर्फबाट भने दोस्रो हाफमा एक गोल फर्काएका थिए । खेलको ५४ औं मिनेटमा रातापानीको तर्फबाट जितेन चौधरीले गोल गर्न सफल भएको थियो । खेललाई बराबरीमा ल्याउनको लागी रातापानी एफ सी ले अथक प्रयास गरे पनि सफल हुन सकेन । अन्तमा रातापानी एफ सी १ गोलमै चित्त बुझाउँदै हार स्विकार्न बाध्य भए ।

कालिका एफ सी ले उपाधी जितेसँगै नगद रु. ३० हजार सहित ट्रफी प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् भने उप विजेताले नगद रु. २० हजार सहित ट्रफी प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् । दुबै टिमलाई मुख्य प्रायोजक रहेको आष्टाङ्ग आयुर्वेद अस्पताल रिसर्च सेन्टर, जंगलु चौधरी प्रतिस्ठानको तर्फबाट चेक हस्तान्तरण गरिएको थियो । उक्त फुटबल च्याम्पियनशिपको सह प्रयोजक यु एस ए बाट चतुरानन्द चौधरी रहेको थियो ।

त्यस्तै फाइनल खेलको म्यान अफ द म्याच कालिका एफ.सी. को तर्फवाट एक्सन चौधरी घोषित भए भने उत्कृष्ट फर्वाड रातापानीको तर्फवाट अर्जुन चौधरी, राईजिङ्ग खेलाडीको उपाधी रोमन चौधरी, उत्कृष्ट मिड फिल्डर रातापानीको तर्फबाट सुवास चौधरी, उत्कृष्ट अनुशासनको उपाधी लक्ष्मिपुर एफ.सी. बाट विमल चौधरी, उत्कृष्ट डिफेन्डर कालिका बाट रोहित चौधरी, उत्कृष्ट गोल रक्षकको उपाधी कालिकाकै राकेश चौधरी र उत्कृष्ट गोलकर्ताको उपाधी रातापानीको तर्फ बाट जितेन चौधरीले जित्न सफल भए ।

समापन कार्यक्रममा प्रमुख अतिथी थारु कल्याणकारीनी सभा, उदयपुरको संरक्षक बलदेव चौधरी, जिल्ला खेलकुद विकाश समिति उदयपुरका अध्यक्ष पर्वत दाहाल, अष्टाङ्ग आयुर्वेद अस्पताल तथा रिसर्च सेन्टरका संचालक हृदयनारायण चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बलदेव चौधरीले खेलको माध्यमबाट युवाहरुमा लागु पदार्थ दुव्र्यसनी विरुद्ध चालेको सचेतना अभियानले सार्थकता पाएको बताउनुभयो । उहाँले मलिथम थारु सेवा समाजको यस किसिमको कार्यको प्रशंसा गर्दै आगामी दिनमा गर्ने हरेक क्रियाकलापमा आफ्नो तर्फबाट साथ सहयोग रहने बताउनुभयो ।

लागु पदार्थ दुव्र्यसनी विरुद्धको अभियान अन्तर्गत थारु समुदायको युवाहरुलाई लक्षित गरी गत वर्ष देखी नै च्यामपियनशिप संचालन गर्दै आईरहको छ । थारु बाहुल्यता रहेको ३ ओटा नगरपालिका मध्ये गत वर्ष बेलका नगरपालिकाको पुरन्दाहामा पहिलो मलिथम फुटबल च्याम्पियनशिप सम्पन्न गरिसकेको छ भने आगामी वर्ष त्रियुगा नगरपालिकामा आयोजना गरिने संस्थाका अध्यक्ष संजय चौधरीले बताए ।

दशैको अवसर पारेर असोज १७ गते देखी संचालन भएको उक्त फुटबल प्रतियोगीतामा उदयपुर जिल्लाभरीबाट थारु समुदायको ८ वटा टिमहरुको सहभागीता रहेको थियो ।

फोटोः दिनेश चौधरी, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot