Logo

‘बाइबाइ’ पोखरा, दुई वर्षपछि कर्णालीमा भेटौँला



पोखरा, कात्तिक ४ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै बिहीबार विश्राम लिएको छ। २०८१ सालमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो।

दसौँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको छ। पोखरा रङ्गशालामा भएको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई दसौँ राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरेर नवौँ राष्ट्रिय खेलकुद समापन गरे।

प्रधानमन्त्री देउवाले पदक तालिकामा सबभन्दा अग्रस्थानमा रहने आर्मी टिमलाई रनिङ ट्रफी पनि प्रदान गरे राष्ट्रिय खेलकुद प्रतियोगितामा यस पटक रनिङ ट्रफीको नयाँ सुरुवात भएको हो। सुन र चाँदीजडित रनिङ सिल्ड तीन संस्करण लगातार जित्नेले आफ्नो बनाउन सक्ने प्रावधान राखिएको छ। यस पटक व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदक विजेतालाई १५ हजार रुपियाँ पनि पुरस्कार दिइएको थियो।

नेपाली सेना १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित कुल ३७१ पदकका साथ टिम च्याम्पियन बन्न सफल भयो। एपीएफ ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २१९ पदक तथा नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्यसहित १९५ शीर्ष तीनमा रहन सफल भए। आयोजक गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्यसहित कुल १२० पदक जित्न सफल भयो। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्