Logo

एमाले अध्यक्ष केपी ओलीको बोली :‘मंसिर ४ पछि जेटविमानको गतिमा देशको विकास’



काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने निर्वाचनपछि एमालेले सरकार गठन गर्ने विश्वास व्यक्त गर्दै त्यसपछि देशको विकास जेट विमानको गतिमा अगाडि बढाइने बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले हिजो (शुक्रबार) राजधानीमा आयोजना गरेको वृहद अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अबको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने बताएका हुन् ।

मंसिर ४ गते जनताको महाअदालतले महाफैसला गर्ने र त्यो फैसला एमालेको पक्षमा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले भने,‘देशको विकास चाहने सबै जनजाति समुदायका साथीहरू सही फैसला गराउने अभियानमा लाग्नुस् ।’

उनले आफ्नो नेतृत्वमा बनेको सरकारले तीन वर्षमा देशलाई तुइनमुक्त बनाएको, हजारौँ किलोमिटर पक्की सडक, पक्की पुल, चारसयभन्दा बढी झोलुुङ्गे पुल बनाएको, सातलाख निजी आवास निर्माण गरिएको र विकासले गति लिएको चर्चा गर्दै अरूले २० बर्षमा नगरेको काम एमालेले तीनबर्षमा गरेको वताउनुभयो ।

उनले गठबन्धन सरकार काम गर्नका लागि बनेको होइन भन्नुहुँदै गठबन्धन सरकार बनेपछि रोकिएको देश विकासलाई गति दिन एमालेको सरकार आवश्यक भएको बताए । एमाले अरूले जस्तो निर्वाचनको मुखमा ‘फ्रि भिसा फ्रि टिकट’ भनेर जनतालाई अल्मल्याउने नभई जनतालाई सचेत गराउने काममा लाग्ने बताए ।

जनजाति समुदायका सहभागीहरूले प्रत्यक्षरूपमा राखेका जिज्ञासाका बारेमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) जनजातिहरूकै पार्टी भएकाले जनजाति समुदायको हित र अधिकारका विषयमा पार्टीको धारणा के छ भन्ने प्रश्नै आवश्यक नभएको स्पष्ट गरे ।

 



प्रतिक्रिया दिनुहोस्