Logo

अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज



काठमाडौं, कात्तिक ६ । करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।

करिब एक वर्षअघि महेन्द्रनगरको प्रवेश बिन्दुका लागि भारतसँग आग्रह गरिएको भए पनि अझै भारतले सहमति दिएको छैन । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै सञ्चालनमा आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु (लिमा ६२६) नै उपयुक्त हुने हवाईविज्ञले बताएका छन् ।

अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सिमरा (गल्फ ५९८) प्रवेश बिन्दु प्रयोग गरिरहेका छन् । यो प्रवेश बिन्दुबाट काठमाडौँ र प्रस्तावित निजगढ विमानस्थललाई पनि उपयुक्त हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भने सिमरा प्रवेश बिन्दु त्यति उपयुक्त मानिँदैन ।

महेन्द्रनगर प्रवेश बिन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहज हुने विमानस्थलमा महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए।

हवाई प्रवेश बिन्दुमध्ये महेन्द्रनगर नै उपयुक्त हुने उड्डयनविज्ञ एवं पूर्ववरिष्ठ पाइलट किरणविक्रम क्षेत्रीले बताए ।

महेन्द्रनगर प्रवेश बिन्दु भएमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सहयोग हुने विश्वास लिइएको छ । सिमरा प्रवेश बिन्दुको तुलनामा महेन्द्रनगरबाट जहाज आउँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २० मिनेटको अन्तर हुन्छ । दिल्लीबाट महेन्द्रनगर प्रवेश बिन्दु हुँदै भैरहवा आउन छोटो दूरी पर्छ । हाल भारतले भैरहवाको प्रवेश बिन्दुबाट अन्तर्राष्ट्रिय उडान गर्न वायुसेवा कम्पनीलाई बाहिर जान मात्रै दिएको छ ।

भैरहवा प्रवेश बिन्दुबाट प्रवेश गर्दा भारतले २० हजार फिटमा आउन दियो भने सहज हुन्छ तर २५ हजार फिटभन्दा माथिको उचाइबाट मात्रै आउन दियो भने सहज हुँदैन । तर, बागडोरा, जोगबनी, रक्सौल, गोरखपुरमा रहेको हवाई चापको कारण देखाउँदै भारतले भैरहवा प्रवेश बिन्दु नदिएको हो । श्रेष्ठका अनुसार नेपालले यसअघि पनि यी चार प्रवेश बिन्दुसँगै जनकपुर र विराटनगर प्रवेश बिन्दु पनि प्रयोगमा माग गरेको थियो ।

अहिले २० वटाभन्दा बढी विदेशी कम्पनीका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्दै आएका छन् । भारत, चीन, बङ्गलादेश, कुवेत, साउदी, दुबई, अरेबिया, जापान, थाइल्यान्ड, सिङ्गापुर, ओमन, मस्कट, कतार, मलेसिया, टर्कीलगायतका मुलुकमा दुईतर्फी सिधा उडान हुँदै आएको छ । सरकारले अस्ट्रेलिया, अमेरिका र इन्डोनेसियामा पनि सिधा उडान गर्ने योजना अगाडि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot