Logo

प्रचण्डलाई हराउन सम्भव छ : पन्त (भिडिओसहित)



काठमाडौं, ९ कात्तिक ।राप्रपाका गोरखा–२ का प्रतिनिधिसभाका उम्मेदवार सुशील पन्तले सोही क्षेत्रबाट उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हराउन सम्भव रहेको बताएका छन् । उनले जनताले चाहे भने देशमा तत्काल राजतन्त्र फर्काउन सकिने तर्क गरे । उनले राष्ट्रपति दलको इशारामा चलेको कुरा देखिएको भन्दै राजसंस्था भयो भने कसैको पनि इशारामा नचल्ने दाबी गरे ।

प्राइम टाइम्स टेलिभिजनको “जनता जान्न चाहन्छन्” कार्यक्रमका लागि पत्रकार ऋषि धमलाको प्रचण्डलाई किन समर्थन नगर्नुभएको भन्ने प्रश्नमा पन्तले भने,”हो, म १५ वर्षको कलिलो उमेरदेखि माओवादीमा लागेको थिएँ । पछि व्यवसायमा लागें । राजनीतिमा आउनुपर्ने बाध्यता भयो र २०७३ देखि राप्रपामा सक्रिय भएँ । गोरखा म जन्मेको ठाउँ हो, यहाँ मलाई उठ्ने अधिकार छ । मैले पहिले नै तय गरेको ठाउँमा प्रचण्ड आउनुभो र प्रतिस्पर्धी बन्नुभो । म गणतन्त्रले ठीक गरेन भन्ने राजनीतिक मुद्दा बोकेको मान्छे हुँ । त्यसैले प्रचण्डको समर्थन गर्ने कुरै भएन नि ।”

गोरखा-२ मा प्रचण्डलाई हराउन सम्भव भएको पन्तको तर्क छ । उनले भने,”कसैलाई हेभिवेट वा लोवेट जनताले बनाउने हो । म ४७ वर्षको युवा हुँ । थुप्रै सामाजिक काम गरेको छु । गोरखाको स्थानीय हुँ । त्यसैले म उहाँभन्दा बलियो उम्मेदवार हुँ ।” उनले गोरखालाई माओवादी उद्गम थलो मान्ने प्रचण्डले के विकास गरे भन्न प्रश्न पनि गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot