Logo

आफ्ना एजेन्डालाई पाखा लगाएर सत्तामा जाँदैनौंः धवलशमशेर



काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं बाँके १ का नवनिर्वाचित सांसद धवलशमशेर राणाले आफ्नो एजेन्डालाई पाखा लगाएर सत्तामा जाने कुनै योजना नभएको बताएका छन् ।
‘सत्तामा जानका लागि अहिले हामीलाई कुनै सन्देश पनि आएको छैन, बैठक पनि भएको छैन । म जिल्लामै छु । आफ्नो एजेन्डालाई पाखा लगाएर सत्तामा जाने राप्रपाको कुनै योजना छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राणाले भने ।
साथै उनले जोसँग पनि जहिले पनि सत्तामा जाने प्रवृत्तिले राप्रपालाई घाटा भएकाले अब सचेत हुने बेला आएको पनि औंल्याए । राणाले थपे, ‘२०५१ सालपछि ठीक काम नगरेकाले जनताले राप्रपालाई दण्डित गरे । बिस्तारै हामी जनताले मन पराउने क्रममा छौं । शून्यबाट १४, १५ सिटमा पुगेका छौं । अर्को चोटि जनताको मन जितेर सरकार बनाउने स्थितिमा पुग्छौं ।’
एमालेले सरकार बनाउने स्थिति भयो भने सहयोग गर्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा महामन्त्री राणाले भने, ‘एमालेसँग हाम्रो तालमेल हो, गठबन्धन होइन । अब यसमा हाम्रो मात्र चाहना भएर भएन, एमालेको पनि चाहना हुनुपर्‍यो । केपी ओलीलाई प्रधानमन्त्री बनाउन एमाले र हामी मिलेर मात्र संख्या पुग्दैन । संख्या पुग्यो र हाम्रो एजेन्डा सम्बोधन हुने भयो भने सोचौंला, भएन भने हामी प्रतिपक्षमै बस्छौं ।’



प्रतिक्रिया दिनुहोस्