Logo

आज अर्जेन्टिना र क्रोएसिया भिड्दै



काठमाडौं, मंसिर २७ । कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । लुसाइल इकोनिक स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

जारी प्रतियोगितामा शानदार प्रदर्शन गरेका दुवै टोली आजको खेलमापनि सोहि लयलिई निरन्तरता दिँदै फाइनलमा प्रवेश गर्न चाहन्छन् । अर्जेन्टिनाको प्रतियोगितामा शुरुवात भने सुखद रहेन । पहिलो खेलमै साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाको उक्त खेलमा ३६ खेलको अपराजीत यात्रामा पूर्णविराम लागेको थियो ।

तर त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै समूहको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले अष्ट्रेलियालाई पन्छाएको थियो । यस्तै क्वाटरफाइनलमा नेदरल्यान्ड्सको चुनौतीलाई पन्छाउन्दै अर्जेन्टिनाले साविक उपविजेतासँगको भेट पक्का गरेको हो ।

यता क्रोएसियाको लागि भने समूहचरण मध्यम रह्यो । समूहचरणमा मोरोक्को र बेल्जियमसँग बराबरी खेलेको क्रोएसिया क्यानडालाई हराउँदै समूहको उपविजेताको रुपमा नकआउट चरणमा पुगेको थियो । यस्तै अन्तिम १६ मा जापान र क्वाटरफाइनलमा उपाधिको बलियो दाबेदार ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसियाले अर्को दाबेदार अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot