Logo

राप्रपा महामन्त्री भन्छन्– पाँच प्रदेशमा राप्रपा निर्णायक शक्ति छ, मुख्यमन्त्रीमा दाबी किन नगर्ने ?



काठमाडौं, २३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री भुवन पाठकले केन्द्रदेखि पाँच वटा प्रदेशमा आफ्नो पार्टी निर्णायक शक्ति भएकाले बागमतीलगायत प्रदेशको मुख्यमन्त्रीमा दाबी रहेको बताएका छन् ।
‘न्यूनतम साझा कार्यक्रममा सहमति भएपछि मात्र हामी सरकारमा जानेलगायत पदीय भागबन्डामा प्रवेश गर्छौं । केन्द्रदेखि पाँचवटा प्रदेशमा राप्रपा निर्णायक शक्तिको रुपमा छ । बागमतीलगायत प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी स्वाभाविक हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाठकले भने ।
सरकारमा कसको नेतृत्वमा जाने भन्ने विषय पनि न्यूनतम साझा कार्यक्रममा सहमति भएपछि मात्र स्पष्ट हुने उनले औंल्याए । उनले भने, ‘कार्यक्रममा जनजीविकाका सवाल, सेवा प्रवाह अनि विकास र समृद्धिका कुरा समेटिन्छन् कि समेटिँदैनन्, त्यसआधारमा सबथोक निर्धारण हुन्छ । हामी जनताको पक्षमा अधिकतम काम गर्न चाहन्छौं ।’
आफ्नो पार्टीका संघीयताको खारेजी, राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना, पूर्ण समानुपातिक संसद्, भ्रष्टाचार नियन्त्रण लगायतका एजेन्डा कार्यान्वयन असम्भव नरहेको पनि उनले बताए । उनले थपे, ‘राजनीतिमा असम्भव भन्ने कुरा केही पनि छैन ।’ नेता पाठकले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्व मानेर सार्वजनिक बिदा दिई पृथ्वीनारायण शाहको सम्मान गर्नुपर्ने पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot