Logo

दुई महिनामै फेरियो सुशील कोइराला प्रखर क्यान्सर अस्पताल



नेपालगन्ज । डा. निरज भट्टराई कार्यकारी निर्देशक नियुक्त भएको दुई महिनामै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले काँचुली फेरेको छ । क्यान्सर उपचारमा अत्यावश्यक रेडिएसन दिने बहुप्रतीक्षित लिन्याक मेसिन आइपुगेको छ भने जटिल प्रकृतिका शल्यक्रियाहरू हुन थालेका छन् ।

अस्पतालमा अत्यावश्यक मध्यपश्चिम र सुदूरपश्चिमकै सम्भवतः पहिलाे ‘पाेजेटिभ प्रेसर’ इन्टेन्सिभ केयर युनिट (आइसियू) पनि बनिसकेकाले क्यान्सरका जटिल शल्यक्रिया गर्न र गम्भीर अवस्थाका क्यान्सर बिरामीलाई उपचार गर्न सहज भएको छ । अबका दिनमा क्यान्सरकेन्द्रित सेवा मात्र दिने गरी अगाडि बढ्ने योजना रहेको अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. भट्टराईले बताए ।

सायद ३ जना मानिसहरू र उभिएका मानिसहरू को फोटो हुनसक्छ

डा. भट्टराईका अनुसार लिन्याक मेसिन यथाशीघ्र सञ्चालनमा आएपछि पश्चिम नेपालका क्यान्सरका बिरामीले सेकाइका लागि चितवन, काठमाडौँ या भारत पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । ‘यो मेसिन सञ्चालनमा आएपछि क्यान्सरका बिरामीहरूलाई अप्रेसनपछि गरिने सेकाइ, अप्रेसन नगर्दै गरिने सेकाइहरूलाई सहज हुनेछ। अब क्यान्सरको सम्पूर्ण उपचार किमो, अप्रेसन र सेकाइ यहींबाट हुनेछ,’ उनले भने ।

नेपाल सरकारबाट विनियाेजित बजेट पाएको र खरिद प्रक्रिया सुरु भएको लामो समयपछि धेरै प्राविधिक जटिलताका बीच स्वास्थ्य मन्त्रालयको सहयोगमा मेसिन आइपुग्दा निकै खुसी लागेको डा. भट्टराईले बताए । अस्पतालमा अब केही समयमै हस्पिस तथा प्यालिएटिभ केयरको सुविधा पनि अस्पतालको अलगै भवनबाट सुरु हुनेछ ।

नेपालगन्ज धम्बोजी चोकबाट करिब १० किमिभित्र खजुरा गाउँपालिकामा अवस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल मध्य तथा सुदूरपश्चिमको एक मात्र क्यान्सर अस्पताल हो । संघीय अस्पताल भए तापनि स्थायी दरबन्दी स्वीकृत नभएकाले उक्त अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको र हाल ‘ओ एन्ड एम’ गरी स्थाई दरबन्दी सिर्जना गर्न अध्ययन तथा पहल प्राथमिकताका साथ भइरहेको डा. भट्टराईले जनाए ।

सायद 1 व्यक्ति, उभिएको र घरभित्र को फोटो हुनसक्छ

कार्यकारी निर्देशक डा. भट्टराईका अनुसार क्यान्सरका बिरामीलाई अस्पतालसम्म आइपुग्ने सहज वातावरण बनाउन खजुरा गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर उपमहानगरपालिकासँग समन्वय गरी क्यान्सर अस्पतालको गेटसम्म सार्वजनिक यातायात, थप एम्बुलेन्स र शववाहन, क्यान्सरका बिरामीलाई निःशुल्क खानाको व्यवस्था गर्न र खजुरा गाउँपालिकाको सहयोगमा अस्पताल प्रांगणमा हाइमास्ट लाइट तथा विद्युत प्राधिकरणसँग डेडिकेटेड लाइनको व्यवस्था गर्नका लागि पहल भइसकेको छ ।

पश्चिम नेपालमा क्यान्सरसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम, साइन्टिफिक कन्फरेन्स तथा क्यान्सर स्क्रिनिङ शिविरहरू अहिले पनि अस्पतालले निरन्तर सञ्चालन गरिरहेको छ । साथै मनोविद्सँगको सहकार्यमा क्यान्सरसँग लडिरहेकाहरूलाई उपचारसँगै मनोवैज्ञानिक परामर्शको व्यवस्था गर्ने र क्यान्सर सर्भाइभर सोसाइटी’ सँगको सहकार्यमा क्यान्सरसम्बन्धी विभिन्न हौसलायुक्त, जनचेतनामूलक कार्यक्रम गर्ने तयारीमा रहेको कार्यकारी निर्देशक डा. भट्टराईले बताए ।

यस्तै, खजुरा गाउँपालिका अध्यक्ष डम्मर विकले अस्पताल आफ्नो गाउँको गौरव भएकाले आवश्यक समन्वय गर्न आफू सदैव तयार रहेको बताए। ‘बिरामीहरूलाई काठमाडौं, चितवन पुग्नुपर्ने अवस्था निराकरण गर्न अस्पतालसँग जुनसुकै सहकार्य गर्न हामी तत्पर छौं’, उनले भने।

 

 



प्रतिक्रिया दिनुहोस्