Logo

रबि लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको रिट निवेदकका वकिलको दाबी



काठमाडौं, ११ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट पाँच जना अधिवक्ताले बहस गरिसकेका छन् । अहिले खाजा समय भएको कारण बहस रोकिएको छ । यसपछि गृहमन्त्री लामिछानेका वकिल र सरकारी वकिलहरुले बहस गर्नेछन् ।

रिट निवेदकको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले गृहमन्त्री लामिछाने अहिले नेपाली मूलका विदेशी नागरिक भएको जिकीर गरेका छन् । ‘अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि निवेदन दिनुपर्नेमा कुनै पनि प्रक्रिया पालना नभएको, अमेरिकी दूतावासमा पनि नागरिकता त्यागको लागि निवेदन दिएको भनेर अध्यागनलाई जानकारी गराएको अवस्था छ । त्यही भएर उनी नेपाली मूलका विदेशी नागरिक हुन्,’ बहसका क्रममा उनले भने ।

गृहमन्त्री लामिछानेले आफूलाई कानुनभन्दा माथिको व्यक्ति ठानेको पनि रिट निवेदकका वकिलहरुको दाबी छ । लामिछानेले आफूले जे गर्दा पनि हुन्छ भन्ने हिसाबले अघि बढेको र कानुनी शासनमा यसो गर्न नमिल्ने उनीहरुको तर्क छ । अधिवक्ता भण्डारीले किरण गुप्ताको मुद्धा गृहमन्त्री लामिछानेको मुद्धासँग मिल्ने भन्दै सर्वोच्चमा नजीर पनि प्रस्तुत गरे । नेपालमा जन्म भएर नेपालमै हुर्किएकी किरणले भारतीय नागरिकसँग बिहे भएपछि भारतीय आधार कार्ड बनाएकी थिइन् । सन् २०१८ मा ग्राम विकास समितिको मुखियामा निर्वाचित भएपछि उनीमाथि मुद्धा परेको र निर्वाचन आयोगले २०१६ मा नेपालको नागरिकता त्याग गरेको र भारतीय नागरिकता लिन प्रकृया नगरेकाले भारतीय नागरिक भन्न नमिल्ने भन्ने व्याख्या भएको उनले इजलासमा नजीर प्रस्तुत गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्