Logo

कोपा डेल रे : रियल मड्रिड सेमिफाइनलमा प्रवेश



एजेन्सी । एथ्लेटिको मड्रिडलाई हराउँदै रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति आफ्नै मैदानमा भएको खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई अतिरिक्त समयमा ३–१ ले हराएको हो ।

निर्धारित समयमा एट्लेटिकोका अल्भारो मोराटा र रियल मड्रिडका रोड्रिगोले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको हो । अतिरिक्त समयमा रियलका लागि करिम बेन्जमा र भिनिसियर जुनियरले एक एक गोल थपे ।

खेलको १९ औं मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७९ औं मिनेटमा रियलका रोड्रिगोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो ।

खेलको ९९ औं मिनेटमा स्टेफन साभिचले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।

१०४ औं मिनेटमा कप्तान बेन्जमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । त्यसपछि अतिरिक्त समयको इन्जुरी समयमा जुनियरले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।

स्पेनिस कोपा डेल रे कै अर्को क्वाटरफाइनल खेलमा भ्यालेन्सियालाई ३–१ ले हराउँदै एट्लेटिक बिल्बाओ पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि बार्सिलोना र ओसासुना प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलको खेल तालिका आगामी सोमबार निकालिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot