Logo

एसईईमा जीपीए ४.० ल्याउनेलाई एक लाख पुरस्कार



काभ्रेपलाञ्चोक, माघ २९ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसईईमा उच्च अङ्क (जीपीए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपैयाँको पुरस्कार दिने घोषणा गरेको छ ।

विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयले ५० हजारदेखि एक लाख रुपैयाँको पुरस्कार दिने निर्णय गरेको छ । वडा अध्यक्ष देवराज लामाले विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुगोस् भनेर पनि पुरस्कार प्रदान गर्न लागिएको बताए ।

गाउँपालिका–२, कार्य समितिको माघ २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । एसईईमा जीपीए ४.० प्राप्त गर्नेलाई एक लाख रुपैयाँ, जीपीए ३.६ भन्दा माथि ल्याउनेलाई ७५ हजार रुपैयाँ र जीपीए ३.२ भन्दा माथि ल्याउनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

सो वडामा माध्यमिक तहको पठनपाठन हुने सर्वोद्धार माध्यमिक विद्यालय मात्र छ । तसर्थ सो पुरस्कारको कार्यक्रम सोही विद्यालयमा मात्र सीमित हुनेछ । उहाँले यसलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए ।

अहिलेसम्म सो विद्यालयका विद्यार्थीले माथिल्लो जीपीए प्राप्त गर्न सकेका छैनन् । विद्यालयका प्रधानाध्यापक ज्ञान्जमान तामाङले विद्यार्थीका लागि पुरस्कार रकमले निकै ठूलो महत्व राख्ने बताए । विद्यालयमा ९९ प्रतिशत तामाङ र एक प्रतिशत मगर समुदायका विद्यार्थी अध्ययनरत छन् । यस वर्ष १८ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot