Logo

ओलीको प्रलोभनमा पर्लान् नेता नेपाल ?



काठमाडौं, फागुन १० । ‘एक दिन बुढो बाघले एक महिलालाई झम्टिएर मारेछ। महिलालाई खाइहाल्यो। तर तिनले लगाएको सुनको बाला बच्यो।

त्यसपछि बाघले हिँड्ने बटुवालाई बाला देखाउँदै मलाई के काम यो बालाको भन्दै बोलाउँदो रहेछ। र, बाला हातैमा दिने भन्दै बाला लिन आएकालाई झ्याम्पै पारेर खाँदो रहेछ। साथीहरू बाला देखेर नलोभियौं।’ सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत माघ २२ गते प्रतिनिधिसभा बैठकमा उक्त नीतिकथा सुनाउँदै नेपाली कांग्रेसलाई हिँड्न नसक्ने बुढो बाघ र माओवादी केन्द्रलाई लोभमा फसेको बटुवासँग तुलना गरेका थिए। ओलीले एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुअघि पुस १० गते भएको समझदारीमा कायम रहन माओवादीलाई आग्रह गरेका थिए।

निर्वाचनमा गठबन्धन गरेर लडेको कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री छाड्न नमानेपछि उनी एमालेसँग सहकार्य गर्न पुगेका थिए। एमालेको समर्थनमा प्रधानमन्त्री भएपछि दाहाल राष्ट्रपतिसहितका सबै पद उसैलाई छाड्दा कुनै पनि बेला धोका हुनसक्ने निष्कर्षमा पुगे। प्रधानमन्त्रीमा कांग्रेसबाट पनि विश्वासको मत पाएपछि दाहाल चुनावअघिको गठबन्धनप्रति लचिलो देखिएका छन्।

त्यसैले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका दाहालले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आश्वासन दिइसकेका छन्। माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने छनक पाएपछि ओलीले कांग्रेसलाई व्यंग्य गर्दै प्रतिनिधिसभा बैठकमा सुनाएको बाघ र बालाको नीतिकथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमा प्रयोग गर्न खोजेका छन्।

माओवादीले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई समर्थन नगर्ने र निर्वाचनअघिको पुरानो गठबन्धन ब्युँताउने प्रयास गरेपछि ओलीले एमालेबाट अलग भएर नेकपा एस गठन गरेका नेपाललाई राष्ट्रपति बन्न आग्रह गरेका छन्। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगत्तै नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्न निकट नेताहरूले राखेको प्रस्ताव ओलीले ठाडै अस्वीकार गरेका थिए।

‘पार्टी विभाजन गरेर मेराविरुद्ध सक्रिय नेपाललाई राष्ट्रपति बनाएर मैले पुरस्कृत गर्नुपर्ने’ भन्ने टिप्पणी ओलीले गरेका थिए। तर परिस्थिति प्रतिकूल बनेर एमाले सरकार बाहिर हुने अवस्था आउन सक्ने भन्दै ओलीले त्यस्तो हुन नदिन नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरेका हुन्। उनले नेकपा एस र एमालेबीच एकीकरणका लागि प्रस्ताव पनि राखेका छन्। ओलीको यो प्रस्तावमा नेपाल लोभिएको जनाउँदै निकट एक नेताले भने, ‘पार्टी स्थापनाको छोटो समयमै सबै दलले नेकपा एसलाई स्वीकार गर्ने अवस्था आएको छ। यस्तो अवसरलाई किन सदुपयोग नगर्ने भन्ने मत छ।’

ओलीको प्रस्तावलाई मात्र आधार बनाएर राष्ट्रपतिका लागि नेपाल अघि बढ्न नहुने निकट नेताहरूको बुझाइ छ। माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा सरकार गठन भएपछि नेपालले पटकपटक भेट्न खोज्दा पनि ओलीले नचाहेको स्मरण गर्दै नेकपा एसका एक पदाधिकारी भन्छन्, ‘पुरानो गठबन्धन ब्युँतिने अवस्थामा नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेर कांग्रेस र माओवादीसँग दूरी बढाइदिने रणनीति ओलीको हुन सक्छ।’ एमालेले नेपाललाई राष्ट्रपतिमा समर्थन गर्दा पनि कांग्रेस र माओवादीले नमानेको भन्ने देखाउन ओलीले यस्तो प्रस्ताव राखेको हुन सक्ने टिप्पणी गर्दै नेपालनिकट ती पदाधिकारीले भने, ‘परिस्थितिको गहिरो मूल्यांकन नगरी हतारमा अघि बढ्नु ठिक हुँदैन।’

हतपतमा निर्णयमा पुग्दा नेता नेपालले विगतमा पनि धेरैपटक धोका खाइसकेको ती नेताको बुझाइ छअहिले पनि कांग्रेस र माओवादीले नचाहेसम्म नेपाल राष्ट्रपति बन्न सहज नभएको दाबी ती नेताको छ। एमाले अध्यक्ष ओलीले अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रयोग गरेर प्रधानमन्त्री दाहालविरुद्ध घेराबन्दी गरिहेको स्रोत बताउँछ। नेकपा एसलाई एमालेमा मिलाउन सके कांग्रेस र माओवादीबाहेकको सरकार बनाउने योजना ओलीको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot