Logo

निगमको न्यारो–बडी दुबईमा ग्राउन्डेड



काठमाडौं, फागुन १५ । नेपाल वायुसेवा निगमको ए ३२०–२०० सिरिजको न्यारो–बडी जहाज दुबईमा ग्राउन्डेड भएको छ। आइतबार दुबईबाट काठमाडौँ आउने तयारीका क्रममा इन्जिनको दायाँ भागमा ओभर हिट भएपछि ग्राउन्डेड गरिएको हो।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबार बिहान १० बजे काठमाडौँ अवतरण गरिसक्नुपर्ने जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड भएको हो।

उनले भनिन् “जहाजमा आएको समस्या पहिल्याउन इन्जिनियरिङ चेकजाँच भइरहेको छ । प्राविधिक समस्याको समाधान नभए अर्को जहाजबाट यात्रुलाई नेपाल ल्याइनेछ।” जहाजमा के समस्या भएको हो भन्नेबारे उनले खुलाईनन् ।
उडान तालिका अनुसार आइतबार रातीसम्म जहाज नेपाल आउन नसक्ने भएपछि १५० यात्रु रहेको उक्त उडानका सबै यात्रुलाई दुबईकै पाँचतारे होटलमा राखिएको छ। यसले निगमको सञ्चालन खर्चमा थप भार पुगेको देखिन्छ ।

त्यो जहाजको इन्जिनमा यसअघि पनि यस्तै प्रकारको समस्या देखिएको थियो। निगमको अर्को जहाजमा भने केही समयअघि समस्या आएर इन्जिन नै परिवर्तन गरिएको छ।

ग्राउन्डेड जहाजको पनि इन्जिनमा समस्या देखिएपछि फेर्नुपर्ने वा मर्मत गरेर उडाउन मिल्ने भन्ने विषयबारे प्रष्ट भननसकेको निगम स्रोतले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot