Logo

माओवादी नेता बिडारी भन्छन्– ‘शान्ति प्रक्रिया टुंगियो भने एमालेले प्रचण्डविरुद्ध के भाषण गर्ने ? (भिडियोसहित)



काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) प्रभावशाली नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले आफूहरुले छिमेकी मुलुक चीन र भारतलाई समदुरीमा हेरेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिमेकी देश चीन र भारतलाई समदुरीमा राखेर काम गरिरहेको बताएका हुन् । ‘असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने राष्ट्रको प्रधानमन्त्री हुन् प्रचण्ड । चीन र भारतलाई समदुरीमा राखेर हाम्रा छिमेकीलाई समान व्यवहार गर्ने हाम्रो लक्ष्य र नीति हो । त्यही अन्तर्गत काम भइरहेको छ र हुन्छ पनि,’– उनले भने ।

एमालेले भनेको अनुसार काम गर्न प्रधानमन्त्री प्रचण्डले नमान्दा अहिले एमालेले जनयुद्धलाई अपराधीकरण गर्न खोजेको उनको आरोप छ । पूर्वसभामुख ओनसरी घर्तीमगरलाई सभामुख बनाउँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रशंसा सुनाउँदै उनले  आफूअनुकूल नहुँदा विभिन्न कालखण्डमा माओवादीमाथि एमालेले आरोप लगाउँदै आएको बताएका हुन् । ‘उहाँ (एमाले अध्यक्ष ओली) लाई गठबन्धन माओवादीसँग हुने भयो भने प्रचण्ड राम्रो । तपाईँलाई एकचोटी फेरि मैले स्मरण गराउँछु, विद्यादेवी भण्डारी राष्ट्रपतिले ओनसरी घर्तीलाई सभामुख बनाउने बेलामा संसद्मा बोलेको रेकर्ड एकचोटी दोहोर्याएर सुन्नुस् । उहाँ के भन्नुहुन्छ भने, महान जनयुद्धको नायिका । अगाडिपट्टी बच्चा बोकेर पछाडि पिठ्युँमा डोको बोकेर जनयुद्धमा होमिएकी, भन्नुहुन्छ आफूलाई मद्धत गर्योभने । आफ्नो हितमा भएन, उनीसँग सहकार्य गर्न सकिएन र उनलाई तथास्तु भन्न सकिएन भने उनी (ओली) यो हिंसाको पात्र, हिंसाको राजनीति भन्नुहुन्छ । त्यसकारण एमालेकै कारणले गर्दा आजको मितिसम्म नेपालमा शान्ति प्रकृया टुंगो लागेको छैन,’– उनले भने ।

शान्ति प्रकृया टुंगो लगाउनका लागि प्रचण्डले पटक–पटक एमालेलाई विश्वास गरेको उनले बताए । प्रचण्डको विश्वासमा एमालेले जहिले पनि धोका, बेइमानी र अन्यायको राजनीति गरेको उनको आरोप छ । ‘शान्ति प्रकृया एमालेले टुंगिन दिँदैन । शान्ति प्रकृया टुंगियो भने एमालेले प्रचण्डको विरुद्ध गर्ने भाषण के ? केही पनि छैन । अहिले के भन्छ भने १७ हजार भन्न पाएको छ । १७ हजार त युद्धमा मारिएको हो । त्यसको स्विकार विस्तृत शान्ति सम्झौतले गर्यो । प्रचण्डले त तिमी पनि जिम्मा लेउ न म पनि लिन्छु भनेको हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot